७ आश्विन २०८१, सोमबार

पहिराले पाइप बगाउँदा खानेपानी अभाव


Water supply

दमौली, ३० असार । केही दिनदेखिको अविरल वर्षापछि आएको पहिरोले खानेपानी पाइप बगाउँदा तनहुँको देवघाट गाउँपालिका–५ मा खानेपानी अभाव भएको छ । धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा ल्याइएको खानेपानीको पाइप पहिरोले बगाएपछि त्यस क्षेत्रमा खानेपानी अभाव भएको हो ।

मुग्लिङ नारायणगढ सडकखण्डको १७ किलोमा झरेको पहिरोले बिहीबार राति खानेपानीको पाइप बगाएपछि देवघाटमा खानेपानी अभाव भएको देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक भोजराज नैनाबस्तीले जानकारी दिनुभयो ।

नैनाबस्तीका अनुसार पहिरोले करीब ५० मिटर पाइप बगाएर त्रिशूली नदीमा खसालेको छ । देवघाट क्षेत्रमा खानेपानी आपूर्तिका लागि भरतपुर महानगरपालिका–२९ को मौलाखोलाबाट पानी ल्याइएको थियो । उक्त खानेपानी योजनाबाट वितरित पानी देवघाट गाउँपालिका–५ का करीब तीन हजार जनताले उपभोग गर्दै आएका छन् । त्यसबाहेक देवघाट क्षेत्रका मठमन्दिर, धर्मशाला, गुरुकुल र वृद्धाश्रममा पनि उक्त पानी वितरण हुँदै आएको थियो । पानी आपूर्ति बन्द भएपछि ती सबै क्षेत्रमा समस्या भएको उहाँले बताउनुभयो ।

देवघाट गाउँपालिका–५ का अध्यक्ष यालबहादुर गुरुङले पहिरोले पाइप बगाएको कारण खानेपानी अभाव भएको बताउनुभयो । उहाँका अनुसार वडाका अन्य साना खानेपानी योजनाबाट गुजारा गरिएको र धर्मशाला र वृद्धाश्रममा ट्याङ्करबाट खानेपानी आपूर्ति गरिएको छ । उपभोक्ता समितिका व्यवस्थापक नैनाबस्तीले अस्थायी रुपमा पाइप मर्मतको काम थालिएको जानकारी दिँदै दीर्घकालीन समाधानका लागि ठूलै रकम खर्च लाग्ने बताउनुभयो ।

पहिरोले घर भत्कियो

अविरल वर्षासँगै आएको पहिरोले आइतबार राति तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा एक घर भत्किएको छ । स्थानीय गीता श्रेष्ठले सञ्चालन गरेको सागर हाइवे रेष्टुरेण्ट पहिरोले भत्ँिकदा आठ लाख बराबरको क्षति भएको स्थानीयवासी प्रकृति खनालले जानकारी दिनुभयो ।

गीता श्रेष्ठसहित दुई बच्चा घरमा रहेको अवस्थामा पहिरो झर्दा घर भत्किए पनि मानवीय क्षति भने भएको छैन । पहिरो गएको जानकारी पाएलगत्तै श्रेष्ठसहित बच्चाहरु घर बाहिर भाग्न सफल भएका थिए ।

कान्लो खारेर घर बनाएकाले वर्षाले ढिस्को झर्दा घरमा क्षति भएको प्रहरीले जनाएको छ । पहिरोले घर पछाडिको गाह्रो भत्किएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !