खाँदबारी, ३० असार । अविरल वर्षाले सङ्खुवासभाको पाँचखपन नगरपालिकाकाको वडा नं १ र ५ मा दुई घर भत्किएका छन् ।
वडा नं १ मा राजकुमार राईको घर भत्किएको त्यहाँका वडाध्यक्ष टेकबहादुर बुढाथोकीले बताउनुभयो । त्यसैगरी पहिराले वडा नं ५ को पीपलडाँडामा नरबहादुर तामाङको घर भत्किएको प्रहरीले जनाएको छ ।
निरन्तर वर्षाका कारण पहिराले नरबहादुरको गोठसमेत पुरिँदा एक हल गोरु मरे पनि मानवीय क्षति भने नभएको बताइएको छ ।
त्यस्तै पहिराका कारण वडा नं ७ को जलजला माध्यमिक विद्यालय बिहीबारेको दुई कोठे पक्की शौचालय भवन बगाएको छ भने विद्यालय भवनसमेत पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । (रासस)