नेपालगञ्ज, २९ असार । बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
नदीमा जलस्तर अहिले धेरै घटे पनि भारी वर्षाको सम्भावना अभैm रहेकाले सुरक्षितस्थानमै रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।
उहाँका अनुसार, सम्भावित बाढी र डुबानको अवस्थामा नागरिकको उद्धार, आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखिएको छ । नदीमा जल प्रवाहकोस्तर खतराको चिन्ह भन्दामाथि आएमा सायरन बजाउने व्यवस्था पनि मिलाएको प्रजिअ भुजेले बताउनुभयो ।
बाँकेका झण्डै २४ हजार नदीय तटिय क्षेत्रका बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममापर्ने गरेका छन् । बाँकेको नेपाल—भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि नदी तटिय क्षेत्रका बासिन्दा बाढी र डुबानको जोखिम मोल्न बाध्य भएका हुन् ।
तटबन्ध र बाँधका कारण जिल्लाको होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँका झण्डै पाँच हजार घरधुरीका घरखेत डुबानमा पर्ने गरेका छन् । गत वर्षको बाढी र डुबानमा परी बाँकेमा ८ जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।
एक हजार बिरुवा रोपण
नेपालगञ्ज उपमहानगरपालिका—२३ हिरमिनियास्थित फोहरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइड) क्षेत्र वरपर आज करीब एक हजार बिरुवा रोपण गरिएको छ ।
‘एक कर्मचारी एक विरुवा, एक जनप्रतिनिधि दुई विरुवा’ नारासहित नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सो क्षेत्रमा विभिन्न जातका विरुवा रोपण गरिएको हो । कार्यक्रममा नगर प्रमुख डा धवल शम्शेर राणाले ल्याण्डफिल्ड साइडको वृक्षरोपणले वातावरण स्वच्छसँगै सुन्दरता पनि बढाउने बताउँदै नेपालगञ्जलाई विकासको उत्कृष्ट नमूना र हरित शहर बनाउने उद्घोष गर्नुभयो ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सरसफाइकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीद्वारा ल्याण्डफिल्ड क्षेत्रको आसपास सगुन, अमला, कोइराला, शितल चिनी र कागती वृक्षरोपण गरिएको थियो । (रासस)