३० कार्तिक २०८१, शुक्रबार

चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ


Chitwan

चितवन, २७ असार । जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म करीब १३ हजार ३७० हेक्टरमा मात्र रोपाइँ भएको जानकारी दिनुभयो ।

कार्यालयका प्रमुख सुधीर श्रेष्ठका अनुसार जिल्लामा अघिल्लो वर्षको तुलनामा रोपाइँको प्रतिशत बढेको छ । अघिल्लो वर्ष यही समयमा ३९ प्रतिशत मात्र रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । अहिले कृषकले डिपबोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरेको उहाँले बताउनुभयो । आकाशे भरमा रोपाइँ हुने र बीउ ढिला राखेका किसानको हकमा भने अहिलेसम्म रोपाइँ भएको छैन । कार्यालयका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा रोपाइँ हुनसकेको छैन । पानी पर्न ढिला गरेका कारण ती क्षेत्रमा रोपाइँ हुननसकेको हो ।

भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकामा १५÷१५ प्रतिशत मात्र रोपाइँ भएको छ । यस्तै माडीमा ३५ प्रतिशत, रत्ननगरमा ८० प्रतिशत, खैरहनीमा ९५ प्रतिशत, राप्तीमा ९० प्रतिशत र कालिका नगरपालिकामा ६५ प्रतिशत खेतीयोग्य जमीनमा रोपाइँ भएको छ ।

बाली विकास अधिकृत पौडेलले रोपाइँ ढिला हुँदा बीउको उमेर बढ्ने भएकाले उत्पादकत्व यस वर्ष घट्नसक्ने बताउनुभयो । ढिलो रोपाइँ गर्दा सूर्यको प्रकाशमा कमी भयो भने पनि उत्पादन घट्न जान्छ । रोपाइँ हुन नसकेका क्षेत्रमा नहरको पानी ढिला छोड्नु र सिँचाइका लागि आकाशे पानीमा भर पर्नुपर्ने भएकाले समस्या आएको कार्यालयका सूचना अधिकारी रामराजा पौडेलले जानकारी दिनुभयो । अघिल्लो वर्ष जिल्लामा एक लाख ६७२ मेट्रिकटन घान उत्पादन भएको थियो ।

दैलेखका ६० प्रतिशत खेत बाँझै

दुल्लु– असार सकिनै लाग्दासमेत दैलेखमा ४० प्रतिशत मात्र रोपाइँ भएको छ । समयमै पर्याप्त पानी नपरेका कारण रोपाइँ प्रभावित भएको हो । जिल्लाका ६० प्रतिशत खेतमा अझै रोपाइँ हुनसकेको छैन । ती खेत अझै बाँझै छन् । यस वर्षको असार अन्तिमसम्म जिल्लाभर ४० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र दैलेखले जनाएको छ ।

गत वर्ष यही समयमा ५५ प्रतिशत बढी रोपाइँ सम्पन्न भएको थियो । यहाँका धेरैजसो खेतीयोग्य जमीन आकाशे पानीको भरमा छन् । जिल्लाको कूल ४३ हजार १२१ हेक्टर खेतीयोग्य जमीनमध्ये ३४ हजार ४९७ हेक्टरमा खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र दैलेखका निमित्त प्रमुख तीलक पाण्डेले जानकारी दिनुभयो । जिल्लामा छ हजार ५१७ हेक्टर क्षेत्रफलमा मात्र धानखेती गरिन्छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लाभर नौ हजार ६३८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ । यो कूल खेती गरिएको जमीनको २७ प्रतिशत मात्र हो । केन्द्रका अनुसार जिल्लामा ६७ प्रतिशत किसान आकाशे पानीमा निर्भर छन् । सिँचाइको सुविधा नहुँदा दैलेखका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य भएका हुन् । भरपर्दो सिँचाइ सुविधा नहुँदा लगानी र प्रविधिअनुसार किसानले उत्पादन बढाउन सकिरहेका छैनन । दैलेखको नारायण, दुल्लु, चामुण्डा विन्द्रासैनी नगरपालिकाका, भगवतीमाई, गुुराँस, भैरवी, ठाटीकाँध गाउँपालिकाका अधिकांश किसानको खेत बाँझै छन् । आठबीस नगरपालिकाको केही भू–भाग, नौमूले, महाबु र डुङ्गेश्वर गाउँपालिकामा अन्य स्थानीय तहको तुलनामा बढी सिँचाइ सुविधा पुगेको केन्द्रका निमित्त प्रमुख पाण्डेले जानकारी दिनुभयो । समयमै मनसुन सक्रिय नभएकै कारण सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ कम भएको उहाँको भनाइ छ ।

राष्ट्रिय योजना आयोगले सन् २०१६ मा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले मुलुकका सुक्खापनको अत्यन्तै उच्च जोखिममा सात जिल्ला छन् । त्यसमध्ये दैलेखमा पनि परेको छ । प्रतिवेदनका आधारमा पहाडमा मुहान सुक्दैछन्, कतै हराउँदैछन् । त्यसको प्रत्यक्ष असर किसानलाई परेको हो । “धानखेती गर्नका लागि आकाशे पानीको भर पर्नुपरेको छ, पानी पर्न शुरु भएमात्रै खेत दौडिन्छौँ”, डुङ्गेश्वर गाउँपालिका–२ का कृषक पूर्णबहादुर गुरुङले भन्नुभयो ।

तनहुँमा ३० प्रतिशत रोपाइँ

तनहुँ– असार सकिनै लाग्दा तनहुँमा ३० प्रतिशत मात्रै वर्षे धान रोपाइँ भएको छ । वर्षा राम्रै भए पनि काम गर्ने जनशक्तिको अभावमा सोचेअनुरुपको धान रोपाइँ हुननसकेको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी मोहनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

तनहुँमा १२ हजार २३० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरिन्छ । युवकहरू विदेशिएपछि गाउँमा काम गर्ने जनशक्ति नहुँदा धान रोपाइँ ढिलो भएको छ । जिल्लाका चुँदीरम्घा फाँट, साँघेफाँट, आँबुखैरेनीको बरादीलगायतका एक दर्जन बढी क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र मानिन्छ । कुलोको पानी नलाग्ने र आकाशे पानीको भरमा रोपिने केही क्षेत्र रहेकाले साउन १५ सम्ममा रोपाइँ कार्य सम्पन्न हुने लक्ष्य कृषि ज्ञान केन्द्र तनहुँको छ ।

गत वर्ष ५० हजार ३७५ मेट्रिकटन धान जिल्लामा उत्पादन भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । धानखेतीबाट मात्रै तनहुँ आत्मनिर्भर हुनसकेको छैन्, आत्मनिर्भर हुन अझै तीन हजार मेट्रिकटन धान उत्पादन वृद्धि गर्नुपर्ने देखिएको छ । अधिकांश खेतीयोग्य जमीन खाली राख्ने, प्लटिङ गर्नेलगायतका समस्याले गर्दा पनि उत्पादकत्वमा कमी आएको हुनसक्ने सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

एक व्यक्तिलाई प्रतिवर्ष १९० किलोग्राम आवश्यक पर्ने हँुदा सबै प्रकारका खाद्यान्न प्रयोग गरेको हकमा भने आत्मनिर्भर बन्न सकिने तथ्याङ्कले देखाएको कृषि ज्ञान केन्द्र तनहुँका प्राविधिक सहायक जयकृष्ण जेसुवालले बताउनुभयो ।

गत वर्ष तनहुँमा चैते धान १३ हजार ३६० मेट्रिकटन, मकै ७० हजार ८५ मेट्रिकटन, गहुँ तीन हजार ७७६ मेट्रिकटन, कोदो चार हजार ६४६ मेट्रिकटन उत्पादन भएकाले यस वर्ष उत्पादकत्व बढ्नसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !