७ आश्विन २०८१, सोमबार

तराई मधेशः नीतिगत, कानूनी र संस्थागत विकास एवं सुधार सम्बन्धमा सरकारलाई सिफारिश गरिने


ईश्वर पोखरेल

काठमाडौँ, २५ असार । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने बताउनुभएको छ । मधेशी आयोगद्वारा आज यहाँ आयोजित ‘मधेशी समुदायको हकहितको संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण’सम्बन्धी अन्तरक्रियामा उहाँले अग्रगमनतर्फ उन्मुख गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, मूल्य र मान्यतालाई एकताबद्ध भएर रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

रक्षामन्त्री पोखरेलले देशको राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण्ण राख्न जरुरी छ भन्दै तराई, पहाड र हिमालको भाग्य एकै ठाउँमा गाँसिएको बताउनुभयो । “तराई मधेशका जनताको असल चालचलन, इमान्दारी र प्रचूर मात्रामा रहेको देशभक्तिपूर्ण भावनाको वर्णन गरेरै सकिन्न”, उहाँले भन्नुभयो, “विगतमा भएको नजानिँदो भेदभावपूर्ण व्यवहारले अन्यायमा परेको मनोविज्ञानलाई तोड्दै मुलुकको विकास र समृद्धिका लागि एकाकार भएर अघि बढ्न आवश्यक छ ।”

उहाँले अग्रगमनतर्फ अघि बढ्ने क्रममा आउने समस्याको ठीक ढङ्गले चित्रण गरेर सामाजिक जागरणका माध्यमबाट सम्बोधनको प्रयास गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले छिमेकी मुलुकको तुलनामा नेपालको संविधानले समानुपातिक र समावेशीको सिद्धान्तलाई उत्कृष्ट ढङ्गबाट आत्मसात् गरेको बताउँदै हामीले अपनाएको उत्कृष्ट शासन प्रणाली र राज्य व्यवस्थालाई ठीक ढङ्गबाट हिँडाउन र त्यसलाई पृष्ठपोषण गर्ने किसिमले ऐन, नियम र कानून बनाएर अघि बढ्नुपर्छ भन्नुभयो ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मधेशी र थारु समुदायका माग एकै खालका भएको बताउँदै तराई–मधेशमा उठेको विषय सम्बोधन गर्न दुवै आयोग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मधेशी आयोगका अध्यक्ष विजय दत्तले मधेशी समुदायको समग्र स्थितिको अध्ययन गरी समस्याको पहिचान भइसकेको हुँदा समाधानको उपाय के हुन सक्छ भनी सुझाव लिन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

मुलुकको अन्नको भण्डार तथा कला, साहित्य, धर्म र सस्कृतिको अनुपम क्षेत्र तराई मधेशको विकासका लागि नीतिगत, कानूनी र संस्थागत विकास एवं सुधार गर्न आयोगले सरकारलाई सिफारिश गर्ने पनि उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !