७ मंसिर २०८१, शुक्रबार

निर्वाचन कार्यक्रम सार्वजनिक


BICC

३ असोज, काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।

निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत भोलि बिहीबार प्रतिनिधिसभाका सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति पदमा निर्वाचित गरियोस् भनि कुनै अर्काे सदस्यले समर्थनसहित प्रस्ताव दर्ता गराउनुपर्ने छ ।

दर्ता गराउने समयसीमा बिहान ११ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको छ । यसपछि सचिवालयले दर्ता भएका प्रस्तावको दर्ताक्रमअनुसार सूची प्रकाशन गर्नेछ ।

शुक्रबार बिहान ११ बजेदेखि सम्बन्धित समितिका बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावलाई समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

सचिवालयले एकभन्दा बढी समितिमा सदस्य रहनुभएका प्रधानमन्त्री, मन्त्रीहरुले आफू कुन समितिको मतदानमा सहभागी हुने लिखितरुपमा सभामुखलाई उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति रहेका छन् ।

यसैगरी महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास र प्रविधि, शिक्षा र स्वास्थ्य र सार्वजनिक लेखा समिति रहेका छन् । यसअघि राष्ट्रियसभाअन्तर्गतका चारवटा विषयगत समितिका सभापति चयन प्रक्रिया सम्पन्न भइसकेका छन् । ती समितिमा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !