१५ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताउनुभएको छ ।
यहाँ जारी बिम्स्टेकको चौथो शिखर सम्मेलन समापन गर्दै उहाँले नेपालले सङ्गठनको अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो । प्रधानमन्त्रीले सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्रको प्रभावकारी कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण निर्वाह गर्नुभएका बिम्स्टेकका महासचिव, सदस्य देशका सम्बद्ध निकायका पदाधिकारी, नेपालका सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्वत्वर्गलगायत सबैमा उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । नेपालले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनका शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर अन्तर्राष्ट्रिय समुदायमा कूटनीतिक क्षमता प्रदर्शन गरेको छ । सम्मेलनबाट पारित घोषणापत्र केही बेरपछि सार्वजनिक हुनेछ । (रासस)