५ आश्विन २०८१, शनिबार

उपत्यकाको सुरक्षा व्यवस्था कडा, हेलिकोप्टरमार्फत गस्ती


Nepal-army-helicopter

१४ भदौ, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्मेलनमा सहभागी हुन आउने राष्ट्रप्रमुख र (भीभीआईपी) हरुको लागि सुरक्षा व्यवस्था कडा पारिएको हो । बिम्स्टेकमा सहभागी रास्ट्रका प्रखुखहरुको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाइएको छ ।

शिखर सम्मेलनमा बिम्स्टेकमा सदस्य राष्ट्रहरूमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरूको सहभागिता हुनेछ ।

सहभागी हुने राष्ट्र–सरकार प्रमुखका पति–पत्नीका लागि नेपाल सरकारले एक जना सम्पर्क अधिकारीको व्यवस्था मिलाएको छ । सम्पर्क अधिकारीको टोलीले आयोजक राष्ट्रसँगको सम्पर्क तथा समन्वयमा सहयोग पुर्‍याउने गृह मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा सहभागी राष्ट्रप्रमुखदेखि अन्य भीभीआईपीको सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाले सुरक्षा नेतृत्वको जिम्मेवारी लिएको छ ।

सबै सुरक्षा निकायहरूसँग समन्वय गरेर सुरक्षाको प्रखुख भूमिकामा नेपाली सेनालाई दिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीले पनि सम्मेलन स्थल भीभीआइपी आउने जाने रूट, बस्ने होटल र भेटघाट हुने सम्पूर्ण स्थानको पहिलो घेरामा नेपाली सेना रहने बताए ।

दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभाग रहने छन् । त्यस्तै नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाइ गस्ती  हुने जनाइएको छ ।

सरकारले सम्मेलनमा सहभागी राष्ट्रप्रमुखहरूको सुरक्षाको लागि चार वटै सुरक्षा निकायका गरी २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू सुरक्षामा खटिएका हुन् । राष्ट्रप्रमुखको सवारीका बेला विमानस्थलको उडान–अवतरण सेवा समेत बन्द हुने गरेको छ ।

एक भीआईपी आउँदा–जाँदा ४०० भन्दा बढी ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए ।

बुधबार देखि लागू गरिएको जोर बिजोर प्रणाली समेत कडा पारिएको पन्तले बताए । विशिष्ट व्यक्तिको आगमन हुने स्थानमा सवारी साधन एक घण्टा अगाडि देखि नै ठप्प पारिने गरेको ट्राफिक महाशाखाले जनाएको छ । त्यसका लागि तीन वटा रुटलाई तयारी अवस्थामा राखिएको छ । जसमा विमानस्थलबाट सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी । दोस्रोमा विमानस्थलबाट गौशाला, रातोपुल, रत्नपार्क हुँदै कालिमाटी र तेस्रोमा विमानस्थलबाट कोटेश्वर, बल्खु हुँदै कालिमाटी जाने रुटलाई तयारी अवस्थामा राखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !