५ आश्विन २०८१, शनिबार

कार्यदलको सुझाव कार्यान्वयनमा जोड


BICC

१२ भदौ, काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका सदस्यले चिकित्सा शिक्षाको सुधार गर्न आयोगले दिएका सुझाव कार्यान्वयनमा ल्याउन जोड दिनुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उहाँहरुले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुदृढ बनाउन आगामी दिनमा फरकफरक नीतिले सम्बोधन गर्न सुझाव दिनुभयो । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई एउटै ऐनबाट व्यवस्थित गर्न नसकिने चर्चा गर्दै प्रस्तावित चिकित्सा शिक्षा विधेयकले प्रस्ताव गरेको उच्चस्तरीय आयोगले नेपाल मेडिकल काउन्सिलका कामलाई प्रभावित पार्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार परिवर्तनसंगै आयोगका पदाधिकारी परिवर्तन हुन सक्दछन्, यसले अस्थिरता आउन सक्छ ।” सांसद खगराज अधिकारीले चिकित्सा शिक्षाका लागि पूर्वाधार तयार भएका मेडिकल कलेजलाई पठनपाठन गर्न अनुमति दिनुपर्छ भन्नुभयो । सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि भौतिक संरचना तयार गर्न अनुमति दिई भौतिक पूर्वाधारसमेत खडा भएका मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिनुपर्छ भन्नुभयो ।

सांसद अञ्जना विंसखेले चिकित्सा शिक्षाको उच्च तहमा साझा पाठ्यक्रम बनाउन ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । तत्कालीन चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक केदारभक्त माथेमाले प्रतिवेदन चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि र पहुँच पु¥याउन सरकारलाई सहयोगी बन्न सक्ने धारणा राख्दै कार्यान्वयन गर्ने वा गर्ने सरकारको कुरा हो भन्नुभयो ।

आयोगका सदस्य प्रा डा सुरेशराज शर्माले नयाँ मेडिकल कलेज स्थापना गर्न जोड दिनेभन्दा सञ्चालनमा रहेकाको क्षमता र गुणस्तरमा बढाउन ध्यान दिन सुझाव दिनुभयो । सदस्य प्रा डा मदन उपाध्यायले प्रतिवेदनले औँल्याएका सुझावका आधारमा चिकित्सा शिक्षा ऐन तयार हुनुपर्छ भन्नुभयो । सदस्यद्वय प्रा डा भगवान कोइराला र प्रा डा अर्जुन कार्कीले शिक्षा र स्वास्थ्य राज्यको दायित्व अन्तर्गत ल्याउँदा आगामी दिनमा नयाँ मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिन रोक लगाउनुपर्छ भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु