५ आश्विन २०८१, शनिबार

वर्तमान सरकार पूर्णत असफल : कांग्रेस नेता सिंह


Prakashman singh

१० भदौ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णत असफल भएको दावी गर्नुभएको छ ।

कांग्रेस नेता सिंहले जनतालाई छुने खालको कुनै पनि उल्लेखनीय कदम चाल्न नसकेको उल्लेख गर्दै वर्तमान सरकार पूर्णत असफल भएको प्रतिक्रिया दिनु भएको हो ।

आइतबार स्वर्गीय मंगलादेवी सिंहको २२ को स्मृति दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रममा उहाँले दुई तिहाई बहुमतको बलियो सरकारले जनतालाई मारमा पार्नेबाहेक अन्य केही काम गर्न नसकेको भन्दै चर्को आलोचना गर्नुभयो ।

नेता सिंहले सरकारले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनाका दोषीलाई छुटाउने प्रयास गरिरहेको आरोप समेत लगाउनुभयो ।

महंगी बढाउने, माइतीघर मण्डलालगायतका क्षेत्रमा निषेधित क्षेत्र तोक्नेलगायतका नचाहिने काम गरेर सरकारले जनताको विश्वास समेत गुमाएको नेता सिंहको दावी छ ।

कांग्रेस नेता सिंहले सरकारले जनताको दुःख कष्टमा साथ दिने प्रयास समेत नगरेको दावी पनि गर्नुभयो । त्यस अवसरमा उहाँले स्वर्गीय मंगलादेवी सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन, महिला अधिकारको आन्दोलनमा खेल्नु भएको नेतृत्वदायी भूमिकाको पनि स्मरण गर्नुभयो ।

विक्रम संवत १९९७ सालमा राणा विरोधी आन्दोलनमा सरिक हुनु भएका स्वर्गीय मंगलादेवी सिंहकै नेतृत्वमा २००४ सालमा नेपालमा पहिलो पटक संगठित महिलाहरुको संगठन नेपाल महिला संघको स्थापना भएको थियो ।

नेपालमा महिलालाई पनि पुरुष सरह अधिकार दिनुपर्ने मान्यता स्थापित गराउन स्वर्गीय मंगलादेवी सिंहले गर्नु भएको प्रयासको स्मरण हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु