८ भदौ, बाँके । जहाँ हरेक दिन ‘सारेगमपधनिसा’ को धुन गुञ्जिथ्यो । विसं २०२८ मा स्थापना भएको नेपालगञ्ज–१३ मा रहेको सरस्वती सङ्गीतालयमा सुरेशराज शर्मा त्यतिबेलाका सङ्गीत गुरु हुनुहुन्थ्यो । सङ्गीत गुरु शर्माको निधनपछि डेढ दशकदेखि बन्द रहेको सङ्गीतालयमा गीतसङ्गीतका धुन बज्न छाडेका छन् ।
सङ्गीतालयको भवन तथा प्राङ्गणमा रहेको सरस्वतीको मूर्तिसमेत जीर्ण बन्दै गएको छ । सुमधुर गीतसङ्गीतका धुन गुञ्जिने सङ्गीतालय सुनसान छ । सङ्गीतकार शर्माको अगुवाइमा स्थापना भएको सङ्गीतालयमा द्वन्द्वकालीन समयदेखि नै यहाँ सङ्गीत गुञ्जिन छाडेको छ । शर्माको निधनपछि सङ्गीतालय अस्तव्यवस्त छ । विसं २०५६ मा गठित सङ्गीतालय व्यवस्थापन समितिले काम गर्न नसक्दा सङ्गीतालयमा कुनै सङ्गीत गुञ्जिएको छैन ।
सङ्गीतालयको भवन तथा प्राङ्गणमा रहेको सरस्वतीको मूर्तिसमेत जीर्ण बन्दै गएको छ । सङ्गीतालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज शर्मा भन्नुहुन्छ, “विगतमा सङ्गीतालयले धेरै सङ्गीतकर्मी सिर्जना गरेको भए पनि अहिले कसैले पनि गुरु स्थललाई फर्केर हेरेका छैनन् ।”
नयाँ पुस्ता सङ्गीत सिक्न आकर्षित भए पनि सङ्गीतालय नै बन्द भएपछि सङ्गीतको रौनकमा रम्न चाहने युवा बरालिन थालेका छन् । हार्मोनियममा राम्रो दख्खल भएका नेपालगञ्ज–१० का युवा मिलनप्रकाश श्रेष्ठ भन्नुहुन्छ, “सङ्गीतालय सञ्चालन गर्ने चाहना छ तर सङ्गीतालयको अवस्था जीर्ण रहेको र पुराना सामग्री नभएकाले समस्या देखिएको छ ।”
स्थानीयका अनुसार विगतमा जस्तै दर्जन बढी सङ्गीत सिक्न पाइने सङ्गीतालयमा सङ्गीत प्रशिक्षण सञ्चालन भए धेरै युवा कुलतबाट जोगिने र समय बिताउन सजिलो हुने थियो । व्यवस्थापन समितिका अध्यक्ष शर्माका अनुसार आफूहरुले सङ्गीतालय सञ्चालन गर्न धेरै प्रयास गरे पनि कहीँकतैबाट सहयोग नभएकाले व्यवस्थापनमा समस्या भएको हो ।
व्यवस्थापन नहुँदा सङ्गीतालयमा रहेका करीब रु पाँच लाख मूल्य बराबरका सामग्री हराएका छन् भने सामग्री कसले लगेको हो भन्ने पहिचान नभएको अध्यक्ष शर्माले बताउनुभयो । अहिले सङ्गीतालयको भवनसमेत जीर्ण बनेको छ । वर्षायाममा छतबाट पानी चुहिनुका साथै भवनका भित्ता चर्किएका छन् ।
द्वन्द्वकालमा बन्द भएको सङ्गीतालय आर्थिक अभावका कारण भत्किँने अवस्थामा पुगेको छ । सरकारी पक्षले समेत बेवास्ता गरेको छ । सङ्गीतप्रेमी युवा सङ्गीत सिक्न आउने गरेको भए पनि सङ्गीतालयको अवस्था देख्दा निराश भएर फर्किने गरेका छन् । त्यसो त गायक अर्जुन मिलन अर्थात् संवैधानिक कानूनका ज्ञाता भीमार्जुन आचार्यले पनि यही सङ्गीतालयबाट साङ्गीतिक धनुमा ताँदो लगाउनुभएको हो । उहाँ कानूनमा प्रविणता तहको अध्ययन गर्ने क्रममा नेपालगञ्जमा बस्दा यही सङ्गीतालयबाट सङ्गीत सिक्नुभएको थियो ।
नेपालगञ्जका सङ्गीतकार दीपक सल्मानी, दिलीप परियार, सीता गुरुङ, कन्हैयासिंह, विनोदसिंह सिन्हाजस्ता साहित्यिक हस्ती पनि यहाँकै उत्पादनभित्र पर्दछन् । सङ्गीत साधकको सिक्ने थलोका रुपमा स्थापना भएको सङ्गीतालय अहिले एउटा ‘घर’मा परिणत भएको छ । अहिलेको समयमा व्यक्तिगतरुपमा कैयौँ सङ्गीतालय स्थापना भए पनि समुदायको पहलमा स्थापित सरस्वती सङ्गीतालयलाई पुनःसञ्चालन गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । (रासस)