३० साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सीमित स्रोत साधनको अधितकतम प्रयोग गरेर जनतालाई गुणस्तरीय एवं छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत पोखरामा स्थापना गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्देशनालयको स्थापनाले संघीयता कार्यान्वयनमा जोड पुगेको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशको पहिलो निर्देशनालयका रुपमा स्थापना भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले अस्पतालको सञ्चालन र व्यवस्थापनका लागि प्रदेशको मातहतमा दिइनुपर्ने माग गर्नुभयो । पोखरा विज्ञान प्रतिष्ठान संघीय सरकारले नभई प्रदेश सरकारको जिम्मामा हुनुपर्ने बताउँदै उहाँले स्थानीय तहको जिम्मामा रहेको आधारभूत स्वास्थ्य सेवा व्यवस्थापन र परिचालन गर्न चुनौती रहेकामा जोड दिनुभयो ।
सामाजिक विकासमन्त्री नरदेवी पुनले मन्त्रालय आवश्यक नीति तथा कानून निर्माणमा जुटेको बताउँदै जवाफदेवी, कर्तव्यनिष्ठ बनी जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सकेमात्र स्वस्थ नागरिक उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले प्रदेशको गौरवका रुपमा रहेको गण्डकी अस्पताललाई सुविधा सम्पन्न बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीले निर्देशनालय स्थापनासँगै तल्लो तहका जनतासमक्ष स्वास्थ्य सेवा पु¥याउन सहयोग पुग्ने बताउनुभयो । (रासस)