४ जेष्ठ २०८१, शुक्रबार

सरकार, संसद् र स्थानीय तहको जिम्मेवारीमा रहेकालाइ पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने


CPN Meeting

२५ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि सहज बनाउन त्यस्तो निर्णय गरेको जनाइएको छ ।

यो निर्णयपछि अब संघीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसद्का दल नेता र उपनेता, संघीय संसद् र प्रदेशसभामा प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापति, जिल्ला समन्वय समितिका संयोजक-सहसंयोजक तथा स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षलाई पार्टीको कुनै पनि स्तरको कार्यकारी पद अध्यक्ष र सचिवको जिम्मेवारी नदिइने भएको छ ।

पार्टीले सरकार र संसद्को भूमिकामा रहेकालाई त्यहाँको काममा प्रभावकारिता ल्याउन तथा पार्टीमा जिम्मेवारी लिन चाहनेलाई स्थान दिन ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’को नीति लिएको बताएको छ । पार्टी एकतापछि नेता कार्यकर्ताको आकांक्षा र आन्तरिक प्रतिस्पर्धा व्यवस्थापनका लागि नेकपाले नयाँ मापदण्ड बनाएको हो ।

प्रधानमन्त्री, पार्टी अध्यक्ष, संघीय संसदीय दलको नेता र उपनेताको हकमा भने यो मापदण्ड लागू हुने छैन । नेकपाको सचिवालय बैठकले प्रदेश, जिल्ला र जनसंगठनमा एकताका लागि सुझाव दिन गठित कार्यदललाई यही साउन मसान्तभित्र प्रतिवेदन दिन निर्देशन दिएपछि भदौदेखि मातहतको एकता प्रक्रिया शुरु हुनेछ ।

त्यसलाई निर्णय बनाउन आगामी भदौ ८ र ९ गते पार्टी स्थायी कमिटीको बैठक बस्ने भएको छ । यसैगरी बैठकले पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहने निर्णय गरेको छ भने पेरिसडाँडामा विभाग र केन्द्रीय निकायका कार्यालय राखिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !