७ पुस २०८१, आइतबार

जीप सफारी विवाद सल्टियो


Jeep Safari

२३ साउन, रत्ननगर । चितवनको पर्यटकीय क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनमा सञ्चालित जीप सफारीको विषयमा उत्पन्न विवाद एक महिनापछि सल्टिएको छ ।

गएको असार ५ गतेदेखि लागू हुनेगरी कुमरोज वनले विभिन्न नियम लगाएपछि सौराहाका जीप व्यवसायीहरुले कुमरोजमा जीप नचलाउने घोषणा गरेका थिए । पटकपटकको छलफल र वार्ताले सहमति जुटेपछि जीप सफारी नियमित भएको कुमरोज सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो । कुमरोजमा पछिल्लो समयमा पर्यटकीय गतिविधि बढ्दै गएको छ । सौराहा आएका पर्यटकले कुमरोजमा पुगेर मनोरञ्जन लिने र वन्यजन्तु अवलोकन गर्ने गर्छन् । सौराहाबाट नजिकै भएकाले पनि कुमरोजमा पर्यटकीय आकर्षण बढेको हो । सौराहाबाट कुमरोज पाँच किलोमिटर पूर्वमा पर्छ ।

अघिल्लो वर्षदेखि शुरु भएको जीप सफारीले कुमरोजमा पर्यटकीय गतिविधि बढेका बेला जीप सफारी विवादले पर्यटक गतिविधि प्रभावित भएको थियो । सौराहाको जीप सफारी सञ्चालन गर्ने व्यवसायी र कुमरोजबीच कुरा नमिल्दा सौरेलीले असार १२ गतेदेखि जीप सफारी बन्दको घोषणा गरेका थिए । तर कुमरोजमा रहेका १२ वटा जीपले भने सेवा पु¥याउँदै आएको दाबी कुमरोज सामुदायिक वनको छ । बीचमा कुमरोजका जीपलाई सौराहामा पर्यटक लिन आउँदा सौराहाका व्यवसायीले रोकेर अवरोधसमेत गरेका थिए ।

अब सो क्षेत्रमा जीप सफारीका लागि अगाडि दर्ता भएका ४० वटा गाडीमध्ये २५ गाडी कुमरोज वनमा चल्ने र बाँकी १५ गाडी कठार रुटमा जानुपर्ने गरी नयाँ नियम बसालिएको छ । पछि दर्ता भएका १० गाडी भने अनिवार्य रुपमा कठार रुटमा जानेगरी सहमति भएको छ । नम्बरका आधारमा पालैपालो गाडी जाने कुमरोज वनले राखेको नियम भने हटाइएको न्यू सौराहा जीप सफारीका अध्यक्ष गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

यस्तै कुमरोज सामुदायिक वनले सौराहाबाट जाने जीपहरुलाई टाढा कठारको कुचकुचेसम्म जानुपर्ने र कुमरोजका जीपहरु भने सोही सामुदायिक वन घुमेर फर्कनुपर्ने पाइने गरी बनाएको नियमसमेत हटाइएको छ । पहिलो सिण्डिकेट जस्तो भएपनि अहिले भने सबै हटेकाले जीप चलाउन सहमति गरेको अधिकारी दाबी गर्नुृहुन्छ ।

यस्तै पहिले गाडी प्रवेशको ५०० तथा प्रतिव्यक्ति नेपाली पर्यटकलाई रु ५०, सार्क राष्ट्रका लागि रु १०० र बाह्य मुलुकका पर्यटकलाई रु २०० शुल्क लिने गरिएको थियो । उक्त नियम हटाएर अहिले प्रतिगाडीले एकमुष्ट रु एक हजार २०० मात्रै तिरे पुग्नेगरी सहमति भएको छ । सौराहाबाट आफ्नो गाडीमा पर्यटक लैजानसमेत नपाउने यदि लैजानु परे २५ गाडी भरिएपछि २६औँ नम्बरमा मात्रै लैजान पाउने नियमसमेत हटेको जनाइएको छ । हाल कुमरोज, कठार र कुचकुचेमा गरी ५० वटा जिपले पर्यटकलाई सफारी गराउँदै आएको छ ।

चितवनको निकुञ्ज र विसहजारी ताल क्षेत्रमा मात्रै जीप सफारी चल्ने गरेकामा पछिल्लो समयमा कुमरोजमा समेत शुरु गरेको हो । कुमरोजमा पर्यटकका लागि हात्ती सफारी, डुंगा सफारीसमेत सञ्चालन हुँदै आएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !