७ पुस २०८१, आइतबार

नगरपालिकाको हरियाली अभियान सुरु


२२ साउन, नेपालगन्ज । नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित छ ।

पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको छ ।

आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गरिने अभियानको उद्देश्य छ । “सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरका टोलटोलका सडक किनारमा रुख रोप्न थालेका छाँै,” नगर प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ ।

नगरलाई हरियाली बनाउन थुप्रै चुनौती छन् । अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ बाँकी नराखी बनाइएका सडक र नालाका कारण अभियानले सोचेजस्तो परिणाम दिन सक्ला जस्तो देखिँदैन । “त्यसको कुनै विकल्प खोज्छौँ, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ”– नगर प्रमुख राणाको कथन छ ।

शुरुवाती चरणमा नेपालगञ्ज सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोप्न थालिएको छ । नगरपालिकालाई नेपालगञ्ज उद्योग वाणिज्य संघ, ग्रिन नेपाल क्लिन नेपाल, बीगु्रपलगायतका संस्थाले सघाएका छन् ।

बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण, रुख बिरुवाको जथाभावी कटान र सवारीसाधनको धुवाँजस्ता कारणले यहाँको तापक्रम बढ्दै छ । जसका कारण नेपालगञ्जमा अहिले अत्यधिक गर्मी बढेको अनुभूति गरिएको छ । “ हरियाली अभियानमा नगरपालिकालाई हामी सबैखाले सहयोग गर्न तयार छौँ,” उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य बताउनुहुन्छ ।

नेपालगञ्ज नगरपालिकाले हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था पनि गरेको छ । तर घर निर्माण गर्ने क्रममा यो व्यवस्थालाई त्यति कडाइका लागि नगरपालिकाले पालना गराएको भने पाइँदैन । नगर प्रमुख राणा भन्नुहुन्छ, “यसको हामीले सुक्ष्म अध्ययन गरिरहेका छाँै । जसले यसको पालना गर्दै नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिने छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !