१० मंसिर २०८१, सोमबार

पेट्रोलमा कालोबजारी


Black Market of petrol

२० साउन, बैतडी ।  जिल्लामा पेट्रोलमा कालोबजारी बढेको छ ।

जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य छन्् ।

प्रतिलिटर रु १०४ पर्ने पेट्रोल जिल्लाका उपभोक्ताले रु १३५ देखि रु १५० सम्ममा खरिद गर्दैआएका छन् । “चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य छौँ,” जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले भन्नुभयो । सीमावर्ती भारतीय बजार झुलाघाट तथा छिमेकी जिल्ला डडेल्धुराबाट पेट्रोल खरिद गर्नुपरिरहेको उहाँले बताउनुभयो । अभाव हुँदा उपभोक्ता महँगो र मिसावट गरिएको पेट्रोल किन्न बाध्य छन् ।

दुई वर्षयता उपभोक्ताले चर्को मूल्यमा पेट्रोल किन्नु परिरहेको दशरथचन्द नगरपालिका–१ का अमरबहादुर टेर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सधैँ महँगोमा पेट्रोल किन्न बाध्य छौँ, सम्बन्धित निकाय मौन छ ।” सतबाँझ तथा गोठलापानी बजारका विभिन्न पसलबाट पेट्रोलको कालोबजारी भइरहेको छ ।

घाटा भएपछि पेट्रोल ढुवानी गर्न बन्द गरेको भण्डारी आयल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले बताउनुभयो ।

पेट्रोलमा भइरहेको कालोबजारीका बारेमा सम्बन्धित पक्षसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताउनुभयो ।

यसैबीच पेट्रोलमा भइरहेको कालोबजारीविरुद्ध आज सतबाँझदेखि गोठलापानीसम्म मोटरसाइकल ¥याली निकालिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !