१९ साउन, बाँके । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ ।
निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर राजमार्ग क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेकाले संरक्षणमा अर्को चुनौती थपिएको हो ।
यस्तै सिक्टा सिँचाइ आयोजना अन्तर्गत नहरको आठ किलोमिटर खण्ड निकुञ्जभित्र पर्छ । गर्मी तथा सुख्खायाममा वन्यजन्तु पानीको प्यास मेटाउनका लागि राजमार्ग हुँदै सिक्टा नहर तथा राप्ती नदीसम्म झर्ने गर्छन् । पानी खाने क्रममा वन्यजन्तु सिक्टा नहरमा डुबेर मर्ने गरेका छन् ।
दैनिक सयौँको संख्यामा सवारी साधनको आहोरदोहोर हुने महेन्द्र राजमार्गमा गाडीको ठक्करबाट तीन वर्षको अवधिमा १७२ वन्यजन्तु मारिएका थिए भने सिक्टा सिँचाइ आयोजनाको नहरमा परेर हालसम्म एउटा चित्तल मरेको र भने तीनवटालाई उद्धार गरी सुरक्षित बासस्थानमा छाडिएको छ । मारिने वन्यजन्तुमा आहारा प्रजातिका बँदेल र चित्तल धेरै रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जको तथ्यांकअनुसार सबैभन्दा बढी गत आर्थिक वर्ष २०७४÷७५ मा ६८ वन्यजन्तु मारिएका थिए । त्यस्तै आव २०७२÷७३ मा ४३ र २०७३÷७४ मा ६१ वन्यजन्तु मारिएका थिए । वन्यजन्तु मारिने क्रम हरेक वर्ष बढ्दो क्रममा रहेका कारण संरक्षण चुनौतीपूर्ण बनेको हो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुरपुर्जा पुनले राजमार्गमा बढ्दो सवारी चापले वन्यजन्तु जोगाउन धौ–धौ भएको बताउनुभयो । “वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा निर्मित भौतिक संरचना वन्यजन्तुकै लागि धराप बनिरहेका छन् भने वन्यजन्तुको आक्रमणबाट मानिसले समेत ज्यान गुमाउने खतरा पनि उत्तिकै छ,” उहाँले भन्नुभयो ।
“वन्यजन्तु निकुञ्जमा मात्र नबसी सबैतिर ओहोरदोहोर गर्छन्,” प्रमुख संरक्षण अधिकृत पुनले जोड दिनुभयो “उनीहरूको संरक्षणसँगै वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा निर्मित भौतिक संरचनाका कारण मानिसले पनि ज्यान गुमाउनुपर्ने खतरा छ । यसबारे नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने देखिन्छ ।”
राजमार्गमा २४सै घण्टा हुने गाडीको ओहोरदोहोरले वन्यजन्तुको आवागमन असहज बनाएको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको श्रीमेयर गणका गणपति तथा प्रमुख सेनानी वासुदेव धिमालले बाँके राष्ट्रिय निकुञ्जमा नहर र राजमार्गकै कारण आहारा प्रजातिलाई संरक्षण गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो । “नहरमा फसेका केही वन्यजन्तुलाई हामीले उद्धार गरेका छौँ,” उहाँले भन्नुभयो ।
वन्यजन्तु संरक्षणका लागि सिक्टा नहर क्षेत्रमा निकुञ्जले दुई किलोमिटर क्षेत्रमा ‘वाइल्डलाइफ गाइडिङ फेन्च’ निर्माण गरेको छ ।
वन्यजन्तुको सुरक्षाका लागि राजमार्गमा सवारी साधनमा जाँच, पेट्रोलिङलगायतका गतिविधि तीव्र पारिएको सेनाले जनाएको छ । गणपति धिमालले भन्नुभयो, “राजमार्गमा भिजिविलिटी बढाउने, आसपासको जंगल क्षेत्र सफाइ गर्र्नेे, सन्देशमूलक होर्डिङबोर्ड राख्ने र गाडी चालकलाई गति नियन्त्रणजस्ता विषयमा सचेत बनाउने गरेका छौँ ।” निकुञ्ज क्षेत्रमा बस्ती धेरै भएका कारण टाइमकार्ड लागू गर्न कठिनाइ भएको उहाँले बताउनुभयो ।
विश्वका १३ देशमा मात्र पाइने दुर्लभ एवं लोपोन्मुख पाटेबाघ बाँके राष्ट्रिय निकुञ्जमा पाइन्छ । सन् २०१० मा निकुञ्ज घोषणा गरिँदा यहाँका जंगलमा बाघ हुनसक्ने अड्कल मात्र गरिएको थियो । निकुञ्जभित्रका बन्यजन्तुको वासस्थानमा सुधार आएसँगै पछिल्ला वर्षमा पाटेबाघको संख्या बढिरहेकोे छ । प्रमुख सेनानी धिमालले निकुञ्जभित्र बाघको आहाराका लागि चित्तल र बँदेलको संख्या पनि निकै वृद्धि भएको छ ।
प्रशस्त आहारा प्रजातिका वन्यजन्तुको संख्यामा वृद्धि भएसँगै बाघको संख्या पनि अपेक्षा गरिएभन्दा बढेको छ । संरक्षित क्षेत्रमा संरक्षणको काममा बाधा नपुग्ने गरी पूर्वाधार निर्माण गर्न सकिने विकल्प हुँदाहुँदै निकुञ्जभित्र बनेका संरचना वन्यजन्तुमैत्री नभएको संरक्षणकर्मी कृष्ण चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सिक्टामा वन्यजन्तुका लागि तारजाली लगाउने कार्य शुरु भएको छ । यसले वन्यजन्तुलाई केही हदसम्म त रोक्न सक्ला तर पूर्ण समाधान भने होइन ।” राजमार्ग क्षेत्रमा वन्यजन्तु वारपार गर्ने ‘अण्डर–ओभर पास’ बनाएर वन्यजन्तुको ओहोरदोहोरलाई कायम राख्न र दुर्घटना घटाउन सकिने उहाँको भनाइ थियो । (रासस)