७ जेष्ठ २०८१, सोमबार

प्रमुख जिल्ला अधिकारीको सरुवा


Ministry-of-home

१० साउन, काठमाडौँ ।  गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा गरेको छ ।

मन्त्रालयले बुधबार ३० प्रमुख जिल्ला तथा सहायक प्रमुख जिल्लाको सरुवा गरेको हो । जसमा अध्यागमन विभागमा ईश्वरराज पौडेल, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रामप्रसाद आचार्य, जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रेमराज जोशी, दीपक काफ्लेलाई राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ ।

यसअघि पौडेल गृह मन्त्रालय, आचार्य जिल्ला प्रशासन कार्यालय मोरङ, जोशी गृहमन्त्रालय र काफ्ले अध्यागमन विभागमा कार्यरत हुनुहुन्थ्यो ।

यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई गृहमन्त्रालय र ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई गृहमन्त्रालयमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

यस्तै अध्यागमन कार्यालयका सहसचिव होमनाथ थपलियालाई प्रहरी किताबखानामा सरुवा गरिएको छ ।

उत्कृष्ट काम गर्ने १२ प्रहरी पुरस्कृत 

महानगरीय प्रहरी परिसर काठमाडौँले असार महिनामा उत्कृष्ट काम गर्ने १२ प्रहरीलाई पुरस्कार प्रदान गरेको छ ।

परिसरले आज एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई सम्मान गरेको हो ।

जसमा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र कमलपोखरीका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्ल र कुलदीप चन्दलाई संयुक्त रुपमा रु ५० हजार, इलाका प्रहरी कार्यालय फर्पिङ र महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक विष्णुप्रसाद सोती र केशव दत्त भट्टलाई संयुक्त रुपमा रु ३५ हजार, महानगरीय प्रहरी प्रभाग कोटेश्वर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब निरीक्षक श्याममणि पोखरेल र विजय भण्डारीलाई संयुक्त रुपमा रु ३० हजार प्रदान गरियो ।

यस्तै महानगरीय प्रहरी वृत्त कमलपोखरी र महिला बालबालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक पद्मबहादुर थापा र निर्मला ओझालाई संयुक्त रुपमा रु २५ हजार, महानगरीय प्रहरी प्रभाग नागढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी हवल्दार बलबहादुर सैजुवाल र पितमलाल तामाङलाई संयुक्त रुपमा रु १५ हजार र महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी जवान सविन थापा र तुलसीराम भट्टराईलाई संयुक्त रुपमा रु १० हजार प्रदान गरियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बंगलादेश बैंकसँग गरेको सम्झौताबाट स्थापना गरिएको उक्त पुरस्कार काठमाडौँमा उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षकसम्मलाई पुरस्कृत गरिँदै आएको छ ।

उक्त पुरस्कार परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेल र बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा वितरण गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !