२६ पुस २०८१, शुक्रबार

एक करोड भन्दा बढी अनुदान वितरण


Myagdi

३२ असार, बाबियाचौर, म्याग्दी । शून्य दरबन्दीमा सञ्चालित म्याग्दीका ४२ वटा सामुदायिक विद्यालयले रु एक करोड भन्दा बढी अनुदान पाएका छन् ।

समुदायस्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतमा शिक्षकको तलब भत्ताको व्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायिक विद्यालयलाई रु एक करोड नौ लाख ९७ हजार अनुदान उपलब्ध गराइएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

आर्थिक वर्ष २०७५÷७६ का लागि कम्तीमा एकजना शिक्षकलाई एक वर्षको तलब उपलब्ध गराउनसक्ने गरी १९ वटा मावि र २३ वटा आधारभूत विद्यालयलाई शिक्षण सिकाइ अनुदान शीर्षकमा शिक्षकको तलब भत्ताका लागि अनुदान उपलब्ध गराइएको इकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।

सञ्चालन अनुमति भए पनि दरबन्दी तथा राहत अनुदान नपाएका सामुदायिक विद्यालयलाई लक्षित गरी संघीय सरकारले उक्त बजेटको व्यवस्था गरेको हो ।

एउटा विद्यालयले विद्यार्थी संख्या र सिकाइ उपलब्धिको आधारमा रु एक लाख २९ हजारदेखि रु चार लाख १५ हजारसम्म अनुदान पाएका छन् । निजी स्रोतका शिक्षकको तलब तथा भत्ताको व्यवस्था गर्न नसकेर बन्द हुने अवस्थामा पुगेका सामुदायिक विद्यालयलाई ठूलो राहत पुगेको धवलागिरि गाउँपालिका– २ को लमसुङ माविका प्रअ तुलसी सुवेदीले बताउनुभयो ।

शून्य दरबन्दीमा सञ्चालित सामुदायिक विद्यालयलाई अनुदानका लागि आगामी आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले रु १८ लाख ५० हजार र मंगला गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेका छन् ।

यसैगरी कार्यालयले रु १६ लाखका दरले उपलब्ध गराएको अनुदानबाट ११ वटा विद्यालयमा दुई कोठे भबन निर्माण गरिएका छन् । रु ३६ लाखका दरले उपलब्ध गराइएको अनुदानबाट आठवटा विद्यालयमा चार कोठे भवन निर्माण भएको इकाइका प्रमुख थापाले जानकारी दिनुभयो ।
नौ वटा विद्यालयमा शौचालय निर्माणका लागि रु छ लाख र १२५ वटा कक्षा कोठा मर्मतका लागि रु पचास हजारका दरले अनुदान वितरण भएको छ । विद्यालय भवन, शौचालय निर्माण, मर्मत तथा अन्य पूर्वाधारका लागि रु दश करोड २३ लाख बजेट विनियोजन भएकामा रु नौ करोड ६९ लाख ६४ हजार खर्च भएको छ ।

पन्ध्र वटा विद्यालयमा इन्टरनेटको माध्यमबाट अध्यापन गराउनका लागि सूचना प्रविधिका सामग्री र २० वटा विद्यालयमा पुस्तकालय स्थापनाका लागि रु ६ लाख ५० हजारका दरले सहयोग गराइएको छ । उच्च सिकाइ उपलब्धि भएको बेनपा– ६ को जामुनाखर्क माविलाई रु दुई लाख प्रोत्साहन उपलब्ध गराइएको छ ।

न्यून सिकाइ उपलब्धि भएको चन्द्रज्योति मावि खिवाङ, जनजाग्रिति मावि मल्कवाङ र राष्ट्रिय माविलाई रु एक लाखका दरले शिक्षण सिकाइमा सुधार ल्याउन सहयोग गरिएको छ । अनौंपचारिक शिक्षा तथा निरन्तर सिकाइ कार्यक्रम अन्तर्गत ५७ वटा साक्षरता कक्षा सञ्चालन गरेको कार्यालयले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गरिएकामा आर्थिक वर्ष २०७४÷७५ को मुख्य शैक्षिक उपलब्धिको रुपमा लिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !