५ फाल्गुन २०८२, मंगलबार

डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड


Nepalpatra

२८ असार, पोखरा ।  नागरिक समाज पोखराद्वारा आज यहाँ आयोजित ‘डा गोविन्द केसी बचाउ अभियान १५औँ सत्याग्रह’ विषयक अन्तरक्रियामा संवादका माध्यमबाट सत्याग्रही डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

मागको सुनुवाइभन्दा परिस्थितिलाई थप जटिल बनाउने काम भइरहेको भन्दै अन्तरक्रियाका वक्ताले तत्काल मागको सुनुवाइ गर्दै सत्याग्रहीको जीवन रक्षातर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले वर्तमान सत्याग्रहीको जीवन जोखिममा पार्ने काम भइरहेको बताउँदै चिकित्सा क्षेत्रको सुधार गर्नुको साटो चिकित्सा क्षेत्रको व्यापार भइरहेको विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले डा केसीले उठाएका माग सम्बन्धमा सरकारले सुनुवाइ गर्नुपर्ने धारणा राख्दै उहाँले थालेको सामाजिक परिवर्तनको बाटोलाई सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो ।

नागरिक समाजका सुरेन्द्र थापा मगरले डा केसीका मागलाई संवादका माध्यमबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

वरिष्ठ पत्रकार नारायण कार्कीले देशैभरिका नागरिक समाजको आवाजअनुरुप डा गोविन्द केसीका मागको पक्षमा जुट्नुपर्नेमा जोड दिनुभयो ।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोलाले डा केसीले नेपाली जनताको साझा माग उठाउनुभएको बताउँदै मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

समाज पोखराका अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि रामबहादुर पौडेल, नेपाल मेडिकल एशोसिएशन गण्डकीका अध्यक्ष डा निर्मल लामिछाने, नर्सिङ एशोसिएशनकी क्षेत्रकुमारी केसी, ठाकुर बराल, इन्द्रकमल मानन्धर लगायतले डा गोविन्द केसीका मागकाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !