२७ असार, काठमाडौँ । एफएम रेडियोहरुले रचनाकार, संगीतकार, गायक र लेखकका सिर्जना प्रयोग गरेबापत लेखकस्व दिने समझदारी भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार संगीत समाज नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, सामुदायिक रेडियो प्रसारक संघ तथा ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्रष्टालाई लेखकस्व दिने अभियान रेडियोबाट शुरु गरिने तथा टेलिभिजन, सार्वजनिक यातायातलगायत सबै सार्वजनिक स्थलमा लागू गर्दै जानेमा जोड दिनुभयो ।
“सिर्जनाले मनोरञ्जन लिने दिने तर स्रष्टा भोकै बस्ने अवस्था अन्त्य हुनुपर्छ, गीत संगीतलाई मानिसले जीवनको अभिन्न अंग बनाएका छन्, दुःख र सुख दुबै अवस्थामा यसको प्रयोग हुन्छ, तनाव शान्त गर्ने अस्त्रका रुपमा पनि गीत संगीतको प्रयोग हुने गरेको छ ।”उहाँले भन्नुभयो ।
लेखकस्व दिने प्रक्रियालाई वैज्ञानिक, व्यवस्थित र पारदर्शी बनाइने, लेखकस्वको पनि कर लाग्ने गरी गीत तथा संगीत क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न सरकारले सहयोग गर्ने मन्त्री बाँस्कोटाको प्रतिबद्धता थियो ।
मन्त्रालयमा भएको सो समझदारीमा लेखकस्वको दर एकवाटदेखि १०० वाटसम्मका रेडियोले वार्षिक रु दुई हजार ५००, १०१ वाटदेखि ५०० वाटसम्मका रेडियोले वार्षिक रु चार ५००, ५०१ वाटदेखि एक हजार वाटसम्मका रेडियोले वार्षिक रु आठ हजार र एक हजार एक वाटभन्दा माथिका रेडियोले वार्षिक रु १२ हजार तोकिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिनुभयो ।
रेडियो प्रसारक सम्बन्धी दुबै छाता संस्थाले आर्थिक वर्ष २०७४÷७५ को गीत तथा संगीतको लेखकस्व आउदो पुस मसान्तभित्र बुझाउनुपर्ने सहमति भएको छ । प्रतिलिपि अधिकार र लेखकस्व अधिकार सम्बन्धी जनचेतनामूलक सामग्रीलाई आपसी समझदारीमा प्रशारण गर्ने व्यवस्था मिलाइएकोे छ ।
प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार सिर्जना प्रयोग गरेबापत स्रष्टालाई लेखकस्व प्रदान गर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्न यस अघि व्यवस्थापिका संसद्को विकास समितिले मन्त्रालयलाई निर्देशन दिएकाले यस सम्बन्धमा मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले लेखकस्व वितरण सम्बन्धी मापदण्ड २०७२ तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा मापदण्ड कार्यान्वयन सम्बन्धी कार्ययोजना तयार भएको थियो । कार्ययोजना कार्यान्वयनका लागि अन्तर्गतका निकायमा पठाइएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा गीतकार सुरेश अधिकारीले सिर्जना प्रयोग गरेबापत स्रष्टालाई नियमानुसार लेखकस्व दिई सम्मान गर्न अपील गर्नुभयो । (रासस)