२० कार्तिक २०८१, मंगलबार

काँग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता


नेपाली काँग्रेस

२२ असार, काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएको छ ।

काँग्रेसले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न उक्त प्रस्ताव आज दर्ता गराएको काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले बताउनुभयो ।

चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई समाप्त गरी स्वास्थ्य, शिक्षा र सेवालाई देशका सबै भागमा सर्वसुलभ एवं गुणस्तरीय बनाउन माग राख्दै डा गोविन्द केसीले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।

यस सम्बन्धमा विगतमा भएका अध्ययन प्रतिवेदन र विभिन्न समयमा भएका सहमति र सम्झौताका आधारमा अघिल्लो सरकारले अध्यादेश जारी गरेको थियो । वर्तमान सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न संसद्मा प्रस्तुत गरेको उक्त विधेयक अध्यादेशको मूल भावना विपरीत रहेको हुँदा काँग्रेसको विरोधका कारण सचिवालयबाट फिर्ता लगिएको उहाँले बताउनुभयो ।

उक्त अध्यादेशको भावनाअनुरुप विधेयक ल्याउनुपर्नेलगायतका माग राखी डा केसी पुनः अनशनमा बस्नुभएको छ । जुम्लामा अनशनमा बस्नुभएका डा केसीको स्वास्थ्यस्थिति दिनदिनै खस्कदै गएको छ ।

सरकारले डा केसीको माग र स्वास्थ्यस्थितिबारे गम्भीर चासो लिनुको साटो उहाँलाई गैरन्यायिक हिरासतमा राख्ने, उपचारमा कुनै चासो नदेखाउने, मागबारे छलफल नगर्ने गरी गैरजिम्मेवार र अलोकतान्त्रिक चरित्र देखाएको नेता खाँणले बताउनुभयो ।

यो विषय जनतासँग प्रत्यक्ष सरोकार भएको र सार्वजनिक रुपले महत्वपूर्ण भएको हँुदा प्रतिनिधिसभामा तत्काल छलफल गर्न वाञ्छनीय भएको भन्दै उहाँले जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेशअनुरुप नै विधेयक तत्काल सदनसमक्ष प्रस्तुत गर्न प्रस्ताव दर्ता गरिएको जानकारी गराउनुभयो ।

प्रस्तावमा डा गोविन्द केसीको उपचारको उचित व्यवस्था गरी जीवनरक्षा गर्न र चिकित्सा शिक्षासम्बन्धी उहाँले राखेका माग सम्बोधन हुनेगरी सरकारले विगतमा जारी गरेको अध्यादेशअनुरुपको विधेयक प्रस्तुत गर्न माग गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !