२२ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् ।
वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर दूरीमा पर्ने टोपेखोलाबीचको ७०० मिटर क्षेत्रमा पहिरो खस्ने गरेको छ । सोही क्षेत्रमा चार किलो भन्ने क्षेत्र पनि पर्छ ।
अधिकांश पहिरो टोपेखोला, चारकिलो र चोरखोलामा खस्ने गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका भू–प्रविधिसम्बन्धी परामर्शदाता टुकलाल अधिकारी सो क्षेत्रमा खसेको पहिरो यो वर्षात्मा नियन्त्रण गर्न नसकिने बताउनुहुन्छ । उहाँले सामान्य ढंगबाट पानी तर्काएर पहिरो घटाउने र सुरक्षा सावधानी अपनाउनेबाहेक अन्य उपाय नभएको बताउनुभयो ।
सो ठाउँको माटो खुकुलो भएको र चट्टानहरु साना साना टुक्रा रहेका कारण तत्काल रोक्न नसकिने र स्वायल नेल प्रविधि अपनाउनुपर्ने अधिकारीले बताउनुभयो । उहाँका अनुसार यो प्रविधिमा १० देखि १५ मिटरको रड भित्तोमा ड्रिल गरेर छिराउनुपर्ने हुन्छ । रडसँग पाइपको माध्यमबाट सिमेन्ट छिराएर भित्रको मजबुत लेयरसँग बाँध्नुपर्ने हुन्छ । बाहिरपट्टि पनि रडसँगै सिमेन्टले भित्तो ढलान गर्नुपर्ने उहाँले बताउनुभयो ।
हिउँदको समयमा मात्रै यो प्रविधिबाट काम गर्न सकिने बताउँदै उहाँले मनसुन बन्द भएपछि विज्ञहरुले यसको अध्ययन गरी डिजाइन तयार गरेर काम गर्नुपर्ने बताउनुभयो । सरकारले ध्यान दिएर समयमै काम थालेमा अर्काे वर्षको वैशाख जेठसम्ममा यो प्रविधिबाट पहिरो रोक्न सकिने उहाँले बताउनुभयो । छोटो प्रक्रियाबाट गर्दा केही छिटो काम सकिने उहाँले बताउनुभयो ।
यो प्रविधि उच्चस्तरको र निकै खर्चिलो भएको पनि उहाँले बताउनुभयो । यो प्रविधिबाट पहिरो रोक्दा काम थोरै देखिने तर लागत धेरै लाग्ने गर्छ ।
कुलेखानीको बाँधको दुवैतर्फ, अरनिको राजमार्गलगायतका ठाउँमा यो प्रविधिबाट पहिरो नियन्त्रण गर्ने काम भएको उहाँले बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुराल विज्ञहरुले विभिन्न उपायहरु बताइरहेको भए पनि मनसुन नहटेसम्म पहिरो रोक्ने कुनै पनि काम गर्न नसकिने बताउनुहुन्छ । एकै क्षेत्रमा पहिरो खसिरहेको भन्दै उहाँले अहिले सावधानी अपनाउने र यथाशक्य छिटो पहिरो हटाउनेतर्फमात्रै आयोजना लागेको बताउनुभयो ।
स्वायल नेलजस्तै गरी युरोपियन क्रिस्मर प्रविधिबाट पनि पहिरो रोक्न सकिने विज्ञहरुले सुझाव दिएको उहाँले बताउनुभयो । यो प्रविधिमा बाहिर फलामको पाता राखेर भित्र ड्रिल गरी बलियो भागसँग जोड्ने काम गरिन्छ । यसका अतिरिक्त विभिन्न सुझाव आइरहेको भन्दै उहाँले मनसुन सकिएपछि विज्ञहरु बोलाएर विस्तृत अध्ययन गरी उपयुक्त उपायको खोजी गरिने बताउनुभयो ।
वर्षात्मा ठूलो पहिरो खसेर पहाडले आफैँ सतह मिलाएमा पहिरो नियन्त्रण सामान्य ढंगले गर्न सकिने पनि उहाँले बताउनुभयो । त्यसको पर्खाइमा पनि आयोजना रहेको छ ।
आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो क्षेत्रको टोपेखोला र चोरखोलामा १०० मिटरमाथिबाट पहिरो खसेको छ भने चार किलोमा ७० मिटर माथिबाट पहिरो खसेको छ । खनालका अनुसार चार किलोको डाँडो साना–साना ढुंगाले अड्याएको कमजोर भौगोलिक बनोटको छ भने चोरखोला र टोपेखोलामा माटोको मात्रा बढी र खुकुलो रहेको छ ।
उक्त क्षेत्रमा तीन मिटरसम्म भित्तो काटेर सडक विस्तार गरिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोनतिको काम अन्तिम चरणमा पुगेको छ । यसै क्रममा अधिकांश ठाउँमा भित्तो काटेर सडक चौडा गरिएको छ । सो सडकको अन्य ठाउँको भित्तो कडा चट्टान र खँदिलो माटो भएकाले पहिरो रोक्ने काम सहज बनेको छ । सडकका अन्य ठाउँमा पहिरो रोक्नका लागि बायोइञ्जिनियरिङ, रक बोल्टिङ, नेट मिटिङलगायतका प्रविधि प्रयोग गरिएको छ । (रासस)