८ जेष्ठ २०८१, मंगलबार

मन्दिर पुनःनिर्माण सम्पन्न


Myagdi

१५ असार, बाबियाचौर, म्याग्दी  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित धार्मिक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको पुनःनिर्माण भएको छ ।

अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा भक्तजनलाई आकर्षित गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय बासिन्दाको पहलमा मन्दिर पुनःनिर्माण भएको हो ।

गाउँपालिका र स्थानीय बासिन्दाको रु दश लाख ८० हजारको लगानीमा मन्दिर पुनःनिर्माण गरिएको उपभोक्ता समितिका सचिव अम्मरबहादुर रानाले जानकारी दिनुभयो । करिब एक सय वर्ष पुरानो सो मन्दिरको पुरानो संरचनालाई जगैदेखि भत्काएर पुनःनिर्माण गर्नुका साथै रेलिङ र सिढीसमेत बनाइएको छ ।

गाउँपालिकाले रु चार लाख ५० हजार उपलब्ध गराएको मन्दिर पुनःनिर्माणका लागि स्थानीय बासिन्दा र प्रवासमा रहेका शिखवासीहरुबाट थप रु छ लाखभन्दा बढी सहयोग जुटेको छ ।

जनै पूर्णिमा पर्वमा बिशेष मेला लाग्ने यस मन्दिरमा दैनिक पूजाआजा सञ्चालन गर्ने तयारी भएको छ । पूजाआजा र भाकल गरेमा मनोकाँक्षा पूरा हुने जनविश्वास छ । कान्छी बाराही मन्दिरमा मुर्ति प्रतिस्थापन, घेराबार र प्रचारप्रसार गरेर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गराउने योजना रहेको वडा अध्यक्ष दिनेशकुमार तिलिजाले बताउनुभयो ।

मुनामा पक्की नाली निर्माण 

म्याग्दीको धौलागिरी गाउँपालिका–३ मुनामा ढल व्यवस्थापनका लागि पक्की नाली निर्माण भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयबासिन्दाले श्रमदान र नगद जुटाएर नाली निर्माण गरेका हुन् । वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु चार लाखबाट ७७ मिटर पक्की नाली निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष होमबहादुर पुनले जानकारी दिनुभयो ।

साविक मुना गाविसको ५ र ६ नम्बर वडाको ढल व्यवस्थापनका लागि बस्तीको बीचमा नाली बनाइएको वडा अध्यक्ष पुर्म पुनले बताउनुभयो । यसबाट सय घरभन्दा बढी लाभान्वित भएका छन् । घरमा निस्कने फोहोर पानी र भललाई नालीमा एकिकृत गरी व्यवस्थापन गरिएपछि घरभित्र बाढी पस्ने जोखिम समेत हटेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !