१२ असार, काठमाडौँ । नेपाल खाद्य संस्थानले मुलुकका विभिन्न ठाउँमा उत्पादन भएको खाद्यान्न संकलन, भण्डारण र दुर्गम क्षेत्रमा ढुवानी गर्दैआएको छ ।
नेपाल खाद्य संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाका अनुसार खाद्य संस्थानले विशेष गरी धान र गहुँको व्यवस्थापन गर्दै आएको छ । संस्थानले मकैको व्यवस्थापन भने गर्न सकेको छैन ।
“मंसिरमा धान, वैशाख र जेठमा गहुँ संकलन गछौँ,” सापकोटाले भन्नुभयो । चालु आवमा करीब दुई लाख ५० हजार क्विन्टल धान उत्पादन भएको छ । विपत् अवस्थालाई ध्यानमा राखी संस्थानले खाद्यान्न जगेडा राख्ने गरेको छ । हाल तीन लाख ३० हजार खाद्यान्न मौज्दात रहेको उहाँको भनाइ छ ।
सापकोटा भन्नुहुन्छ, “दुर्गम क्षेत्रसहित २३ जिल्लामा खाद्यान्न ढुवानी गर्दैआएका छौँ ।” संस्थानले यसबाहेक विपत् परेका अन्य जिल्लामा समेत खाद्यान्न ढुवानी गर्दैआएको छ ।
आव २०७३÷७४ मा संस्थानले देशका आठ शहरबाट चार हजार मेट्रिक टन गहुँ संकलन गर्ने लक्ष्य राखेको थियो । संस्थानले सो अवधिमा ५५ हजार मेट्रिक टन धान संकलन गरेको थियो ।
खाद्यान्न कारोबार तथा आपूर्तिको संस्थागत व्यवस्था सरकारीस्तरमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा शुरु भएको इतिहास छ । त्यसबेला गुठी र रैकर जग्गाबाट तिरोभरोका रुपमा धान संकलन हुने प्रचलन थियो । उपत्यकाको उत्पादन अपर्याप्त हुँदा खाद्यान्न अभाव हुन नदिन तराईबाट प्रतिवर्ष दुई हजार मन चामल झिकाउने व्यवस्था मिलाइएको थियो ।
विसं २०१८ मा अतिवृष्टि तथा भूःस्खलनबाट पहाडी जिल्ला प्रभावित भएपछि सो समस्या समाधान गर्न तथा आपूर्ति व्यवस्था मिलाउन २०२१ सालमा संस्थान ऐन, २०२१ अन्तर्गत खाद्य व्यवस्था संस्थानको गठन भएको हो । साविकको सम्पत्ति, जग्गा जमीन र दायित्व खाद्य व्यवस्था संस्थानको जिम्मेवारीमा सारिएको थियो । विसं २०३१ मा नेपाल खाद्य संस्थान खडा गरिएको हो ।
नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्रयास भइरहेको बताउनुभयो । “प्राविधिक पूर्वाधार तथा संयन्त्रको व्यवस्था भइसकेकाले उपकरण जडान गरी साउनभित्र सञ्चालन गर्ने लक्ष्य रहेको छ,” सापकोटाले भन्नुभयो । (रासस)