११ पुस २०८१, बिहीबार

शुक्लाफाँटाको गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने


गजराज ‘शेषचन्द्र’

दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ ।

एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताए ।

“शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकलाई निकुञ्ज भ्रमण गराउन हात्तीको प्रयोग हुँदै आएको छ ।” उनले भने, “हात्तीलाई परिचलान गर्न एक महिना अघिदेखि सुरु गरिएको तालिम आज समापन भएको छ ।” उनले हाल निकुञ्जमा दुईवटा छावासहित आठ हात्ती रहेका बताए ।

तालिमको सुरुआतका बेला वयस्क हात्तीको सहारामा जङ्गलतर्फ लगिएको थियो । इच्छाअनुसार स्वतन्त्ररूपमा हिँडडुल गरिरहेका हात्तीलाई इशारा र निर्देशनका आधारमा हिँडाउनका लागि तालिम दिने गरिन्छ । शेषचन्द्रलाई नियन्त्रितरूपमा हिँडाउन हात्तीसारको वयस्क हात्ती सुर्तीकलीको प्रयोग गरिएका हात्तीसारका शिवदत्त चौधरीले जानकारी दिए ।

“हात्तीलाई तालिम दिनुभन्दाअघि एउटा खम्बा तयार पारिन्छ, त्यसलाई खमारा भनिन्छ”, चौधरीले भने, “खम्बाको टुप्पोमा डोरी अल्झाउने खालको बनाइन्छ । डोरी अल्झिने उचाइ र हात्तीको घाँटीको उचाइ बराबर हुनुपर्छ । खम्बा गाडेको ठाउँमा पूजाआजा गरिन्छ । यसलाई खामेश्वरी पूजा पनि भनिन्छ । हात्तीलाई तालिम जसदिने हो, उसैले पूजा गर्नुपर्छ ।” चौधरीका अनुसार हात्तीलाई पूर्णरूपमा तालिम दिन कम्तीमा एक महिना लाग्ने गर्छ ।

“हात्तीलाई तालिम दिने वा हात्तीमा चढ्नेलाई बहकिया भनिन्छ”, उनले भने, “दिनमा जङ्गल घुमाएर ल्याएपछि हात्तीलाई बिहान पूजा गरेको खम्बामा बाँधिन्छ । यसका साथै अगाडि र पछाडिका खुट्टा पनि बाँधिन्छ ।” हात्तीको घाँटीमा बाँधिने डोरीलाई अग्रन, अगाडिको खुट्टा बाँध्नेलाई छनुवा र पछाडिको खुट्टा बाँध्नेलाई बन्डा भनिन्छ । “जबसम्म बहकियाको भनेको टेर्दर्नै तबसम्म बस्न दिइँदैन र खम्बाबाट सारिँदैन, राति सुत्न पनि दिइँदैन”, चौधरीले भने, “कम्तीमा एक हप्ता लाग्छ, त्यतिबेलासम्म खम्बामै बाँधेर सिकाइन्छ ।”

चौधरीका अनुसार भनेको मान्ने र उठबस गर्न थालेपछि वयस्क हात्तीकै साहारामा हात्तीमाथि बसेर पनि तालिम दिइन्छ । “दुई हात्तीको बीचमा हालेर दायाँबायाँ गर्न नदिएर अगाडि लैजान दुवैतर्फ वयस्क हात्तीलाई हिँडाइन्छ”, उनले भने, “उकालो–ओरालो र पानी सबै ठाउँमा हिँड्न सक्नेगरी तालिम दिइन्छ, तालिमका बेलामा निडर बनाउन आगो देखाउने, गाडी देखेर नडराओस् भनेर सडकमा समेत हिँडडुल गर्न सिकाइन्छ ।”

हात्तीलाई दुईदेखि तीन वर्ष छ महिना भित्रै तालिम दिइसक्नुपर्छ । त्यसपछि भने तालिम दिन निकै समस्या हुन्छ । अटेरी पनि हुनसक्छ । शुक्लाफाँटामा १० हात्तीको दरबन्दी भए पनि अहिले सानासहित आठमात्रै छन् । अहिले हात्तीसारसँगै निकुञ्जको मालुबेला र शुक्लाफाँटा पोष्टमा हात्ती राखिएको छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !