७ मंसिर २०८१, शुक्रबार

कोशी गापामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका


Bird Flu

२३ जेठ , इनरुवा । सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् ।

स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए ।

यहाँ ४०० चल्ला एकैचोटी मरेकाले स्थानीयवासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका छन् । चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट चल्ला ल्याएकाले चल्लामा बर्डफ्लुु हुन सक्ने स्थानीय पशु प्राविधिक पाठकले आशंका गर्नुभएको छ ।

पाठकले किसान यादवले प्रतिगोटा रु ४५ का दरले करीब रु १८ हजारको चल्ला ल्याएको र १२ घण्टा नहँुदै एक्कासि चल्लाको मृत्यु भएकाले स्थानीयवासी सशंकित भएका छन् । केहीले एकाएक यति ठूलो संख्यामा चल्लाको ज्यान जानुलाई बर्डफ्लुको नै लक्षण भएको आशंका गरेका छन् । आशंका भएका कारण आवश्यक चेकजाँच तथा परीक्षण गर्नका लागि जिल्ला पशुसेवा कार्यालयलाई समेत आग्रह गरेको पीडित किसानलाई उद्धृत गर्दै प्राविधिक पाठकले बताउनुभयो ।

यता किसानको चल्ला एक्कासि मरेपछि किसान चिन्तित भएका छन् । किसानले आफूले ल्याएको चल्ला एक्कासि मरेपछि बिक्रेतासँग क्षतिपूर्तिको मागसमेत गर्नुभएको छ । यता कैलाशपति ह्याचरी चितवनका पूर्वाञ्चल प्रमुख अनिल बस्नेतले आफूले मधुवनका वासु श्रेष्ठलाई चल्ला दिएको र यो विषयमा घटनास्थलमा पुगेपछि मात्र केही भन्न सकिने बताउनुभयो ।

त्यस्तै, जिल्ला पशुसेवा कार्यालय, सुनसरीका प्रमुख शिवनाथ महतोले आफूलाई सो विषयमा जानकारी नआएको प्रतिक्रिया दिनुभयो । प्रमुख महतोले जिल्लाका किसानलाई चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन कडाइ गरेकोे भए पनि किसानले आफूखुशी गरेकाले त्यसो हुन गएको बताउनुभयो ।

महतोले किन त्यहाँबाट चल्ला ल्याउन हतार गरेको हो आफूलाई थाहा नभएको र बर्डफ्लुको आशंका भए त्यसको सुली र मृत चल्ला परीक्षणका लागि विराटनगरस्थित प्रयोगशालामा लानका लागि सुझाव दिनुभएको छ ।

देशका विभिन्न भागमा बर्डफ्लुको जोखिम तथा प्रभावित भएको प्रतिक्रिया दिनुहँुदै किसानले नै त्यस्तो जोखिम मोलेर चल्ला ल्याएकाले सो घटना हुन गएको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !