१३ बैशाख २०८१, बिहिबार

अदालतद्वारा शिल्पाको पक्षमा फैसला, छविले आधा सम्पत्ति दिनुपर्ने


शिल्पा पोखरेल र छविराज ओझा

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको मुद्दामा फैसला गरेको छ । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो सम्पत्तिको आधा हिस्सा दिनुपर्ने फैसला सुनाएको छ ।

अदालतको यो फैसलासँगै उनीहरुबीच कानुनी रुपमा डिभोर्स पनि भएको छ । रेखा थापासँग डिभोर्सपछि छविले चौथो श्रीमतीका रूपमा शिल्पालाई भित्र्याएतापनि आपसी विवादका कारण उनीहरूको वैवाहिक जीवन लामो समय टिक्न सकेको थिएन ।

शिल्पाले छविसँग सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । अब छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्नेछ भने छविसँग हुँदा लागेको ऋणको आधा हिस्सा पनि शिल्पाले व्यहोर्नुपर्नेछ ।

छविको सम्पत्ति र ऋणको पनि सबै लेखाजोखा भइसकेको छ । छविले अदालतसमक्ष २० करोड भन्दा बढी ऋण देखाएका छन् । छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउनेछिन् ।

यस्तै, अदालतले छविकी जेठी श्रीमतीले हालेको बहुबिबाहको मुद्दा समेत खारेज गरिदिएको छ । जेठी श्रीमतीसँग पहिले नै सम्बन्ध विच्छेद भएको भन्दै अदालतले मुद्दा खारेज गरिदिएको हो । जिल्ला अदालतमा मुद्दा हारेपछि ओझा उच्च अदालत जाने तयारीमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !