१८ असार २०८१, मंगलबार

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई पर्वका रुपमा मनाउन मुख्यमन्त्रीकाे आग्रह


Lal Babu Raut Gaddi

२५ वैशाख, जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने जनकपुरधाम भ्रमणलाई पर्वका रूपमा मनाउन प्र्रदेशवासीलाई आग्रह गर्नुभएको छ ।

भ्रमणलाई सभ्य र भव्य बनाउन आ–आफ्नो घर अगाडि सरसफाइ गर्न तथा फूलमालाको सजावटसहित पानीले भरिएको पूजा कलश राख्न उहाँले सर्वसाधारणसँग अनुरोध गर्नुभएको छ ।

प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भारतका प्रधानमन्त्री मोदीलाई बाह्रविघामा गरिने नागरिक अभिनन्दन समारोहस्थलमा सर्वसाधारणलाई प्रवेश गर्न कुनै पासको आवश्यक नपर्ने जानकारी दिनुभयो ।

सर्वसाधारणलाई समारोहस्थलमा प्रवेशका लागि उत्तरतर्फको प्रवेशद्वारबाट सहज प्रवेशको व्यवस्था गरिएको बताउँदै उहाँले समारोहस्थलमा १० बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ भन्नुभयो ।
मुख्यमन्त्री राउतले अभिनन्दन समारोहमा आठ जिल्लाका पाँच लाख नागरिक सहभागी हुने अनुमान गरिएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले अभिनन्दन समारोहको युद्धस्तरमा तयारी भइरहेको जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !