३० कार्तिक २०८१, शुक्रबार

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा


Dinannath Sharma

 

२५ वैशाख, काठमाण्डौ ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको आज बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । बैठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा बनाएर सोहीअनुरुप सरकारको नीति तथा कार्यक्रम ल्याइनुपर्नेबारे छलफल भएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

वाम गठबन्धनले जनतासमक्ष प्रस्तुत घोषणापत्रलाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम तयार पारिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ । संघीयताको मूल्यमान्यतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने र उक्त विषय पार्टी संयोजन समितिमा पनि छलफल गरिनुपर्नेमा संसदीय दलले जोड दिएको छ । बैठकले विकासनिर्माणका कार्यलाई सातै प्रदेशमा सघन रुपमा अघि बढाउन प्रदेशमा संयोजन समिति बनाउने निर्णय गरेको छ ।

विधेयक संशोधन र परिमार्जनलगायत कानूनी विषयमा रायसुझाव लिन दलको कार्यालयको नेतृत्वमा कानून विभाग गठन गर्नेसमेत बैठकले निर्णय गरेको छ । छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भएका निर्णय र छलफलमा उठेका विषयलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको दलका नेता गुरुङले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !