१३ असार २०८१, बिहिबार

सगरमाथा आरोहण सहयोगार्थ फोटो प्रदर्शनी हुँदै


२३ वैशाख, काठमाण्डाै । ‘द ब्रिट’ नामक संस्थाले सगरमाथा आरोहण गर्न लागेका राष्ट्रिय समाचार समितिकी रोशा बस्नेतसहित पाँचजना महिला पत्रकारको सहयोगार्थ फोटो प्रदर्शनी गर्न लागेको छ ।

‘भाव र आन्दोलनहरु’ (मुड्स एण्ड मुभमेन्टस्) नामाकरण गरी वरिष्ठ फोटोग्राफर मीन बज्राचार्यले खिच्नुभएका फोटोमार्फत फोटो प्रदर्शनी गर्न लागिएको हो ।
फोटो प्रदर्शनीको उद्घाटनका क्रममा आयोजना गरेको कार्यक्रममा बज्राचार्यले भन्नुभयो, “तस्वीरले आफैँ हजारौँ शब्द बोल्छ, त्यसको बयान गर्नु आवश्यक हुँदैन ।” आफूले पहिले पनि फोटोमार्फत आएको रकमबाट सहयोग गर्दै आएकाले यस प्रदर्शनीमा बिक्री भएको फोटोको रकम सगरमाथा आरोहण गर्न लागेका पत्रकार महिलालाई सहयोग गर्न लागेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली आन्दोलनमा फोटोग्राफर र पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विसं २०४६ को जनआन्दोलनमा बज्राचार्यको ठूलो भूमिका रहेको उहाँले स्मरण गर्नुभयो ।
द ब्रिटका संस्थापक होम परिवागले नियमित रुपमा नेपाली सर्जकका लागि संस्थाले काम गरिरहने बताउनुभयो । “अन्तर्राष्ट्रियस्तरमा फोटोग्राफरको जति सम्मान छ, नेपालमा उहाँहरुले परिचयसमेत पाउन सक्नुभएको छैन”, परिवागले बताउनुभयो ।

कार्यक्रमका संयोजक तथा फोटोग्राफर दीपेन्द्र बज्राचार्यले नेपाली फोटोग्राफीमा मीन बज्राचार्यले इतिहास बोक्नुभएकाले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । “उहाँले आफ्नै घरको चुहिएको छानो नछाएर दीनदुःखीलाई सेवा गर्नुभएको छ”, उहाँले भन्नुभयो । फोटोग्राफरमात्र नभएर बज्राचार्य असल मानव हुनुभएको उहाँ बताउनुहुन्छ ।

बज्राचार्यले सन् १९९५ मा आफ्नो तस्वीर पहिलोपटक होटल बज्रमा प्रदर्शनी गर्नुभएको थियो । उहाँले हालसम्म अन्तर्राष्ट्रिय र राष्ट्रियरुपमा थुप्रै फोटो प्रदर्शनी गरिसक्नुभएको छ ।
फोटो प्रदर्शनी वैशाख २२ गतेदेखि यही असार ६ गतेसम्म हुनेछ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !