१९ असार २०८१, बुधबार

एमालेसँग केही दिनभित्रै एकता हुन्छ : प्रचण्ड


प्रचण्ड

२१ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ । ‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले आज यहाँ आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले नेकपा एमाले सँगको एकता केही दिनभित्रमा नै हुने बताउनुभयो ।

अध्यक्ष दाहालले यसमा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ, हामी एमाले र माओवादी केन्द्र विघटन गरेर नयाँ पार्टी निर्माणको चरणमा छौँ, पुरानो आग्रह र पूर्वाग्रहबाट मुक्त भई नयाँमा रुपान्तरण हुन आवश्यक छ ।”

अध्यक्ष दाहालले एमालेसँगको एकतामा एकाध बाहेक सबै कम्युनिष्ट केन्द्रित हुन आइपुग्ने अवस्था आउने पनि बताउनुभयो । एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपभोक्तावादी चिन्तन र बुर्जुवा संस्कृतिलाई अन्त्य गर्दै समाजवादको आधारशीला खडा गर्न कम्युनिष्ट एकीकृत हुनुको विकल्प नभएको बताउनुभयो ।

एमालेका नेता माधवकुमार नेपालले शान्तिपूर्ण रुपान्तरण र समाजवाद उन्मुख प्रणालीमार्फत् समृद्धि हासिल गर्ने विचार, मूल्य, मान्यता र सिद्धान्तमा कुनै विवाद नभएकाले एकतामा अवरोध नआउने धारणा व्यक्त गर्नुभयो । एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालमा आजको माक्र्सवादको सम्मान नै पार्टी एकता हो भन्नुभयो ।

समितिका अध्यक्ष एवं एमालेका उपमहासचिव घनश्याम भुषालले दुई दिनसम्म चल्ने गोष्ठीमा माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । उहाँले १० हजार युवालाई माक्र्सवादबारे प्रशिक्षण दिने तयारी भएको पनि बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !