३ असार २०८१, आइतबार

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारी तिव्र


Narendra Modi

२० वैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आउँदो वैशाख २८ गते हुने जनकपुर भ्रमणको तयारीका लागि भारतीय सुरक्षा निकायले जनकपुरको निरीक्षण गरेका छन् ।

जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघामा हेलिकप्टर अवतरणका लागि हेलिप्याड, अभिनन्दन एवं सम्बोधनको लागि मञ्च र जानकी मन्दिरको दर्शनका लागि व्यवस्थापनलगायतका विषयमा भारतीय उच्च सुरक्षा अधिकारी , भारतीय परराष्ट्र मन्त्रालयका अधिकारी र भारतीय राजदूतावासका अधिकारीहरुले निरीक्षण गरेका हुन् ।
उनीहरुले प्रदेश नं. २ सरकार र सुरक्षा अधिकारीसँग छलफल समेत गरेका छन् ।

पटनाबाट भारतीय सेनाको हेलिकप्टरले जनकपुर आउने भारतीय प्रधानमन्त्री मोदीसहित तीनवटा हेलिकप्टर अवतरणका लागि बाह्रबिघामा तीनवटा हेलिप्याड बनाउन सुझाव दिएका छन् ।

त्यस्तै मोदी प्रवेश गर्ने द्वारको ठिक विपरीत सर्वसाधारण प्रवेश गर्ने गेट निर्माण गन तथा आठ फिट उचाईको मञ्च निर्माण गर्नसमेत उनीहरुले उपस्थित प्रदेश सरकार, जनकपुर उपमहानगरपालिका र स्थानीय प्रशासनका प्रतिनिधिलाई सुझाव दिएका छन् ।

त्यसक्रममा भारतीय वायु सेनाका हेलिकप्टर समेत बाह्रबिघामा अवतरण गराएर परीक्षण गरिएको छ ।
निरीक्षणको समयमा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरु, भारतीय सुरक्षा निकायका आईजी, भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायत तथा स्थानीय प्रहरी प्रशासनको उपस्थिति थियो । (शैलेन्द्र महतो/उज्यालो)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !