४ आश्विन २०८१, शुक्रबार

७१ वर्षको उमेरमा नागरिकता पाइन् सपना बादीले


१९ वैशाख, बाजुरा  । बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएकाे छ ।

बिहेलगत्तै श्रीमानकाे मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा वैशाख १४ गते शुक्रबार नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।

साविक गाविस र हालको नगरपालिकालाई जानकारी गराए पनि कसैले नागरिकताको पहल नगरेको गुनासो सुनाउँदै सपनाले पत्रकारलाई जानकारी गराएपछि नागरिकता पाएको बताउनुभएको छ ।

सपनाको नागरिकताका लागि नगरपालिका, प्रहरी प्रशासनसँग सहकार्य गरी नागरिकता बनाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश सिंहको पहलमा सपना बादीले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो ।

अर्काको छाप्रोमा बस्दै आएकी सपनालाई पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह र इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले नागरिकता बनाउन यातायात खर्चसमेत सहयोग गरेको सपना बादीले बताउनुभयो ।

सपनाले बूढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भवनसिं केसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउनु भएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !