४ आश्विन २०८१, शुक्रबार

रिजेन्सी होटलको २५ वर्षमा प्रतिफल शून्य


Hotel Regency

१८ वैशाख, काठमाण्डौ ।  महालेखा परीक्षकको कार्यालयले नीतिगत एवं आर्थिक विषयमा अनियमितता गरेको भन्दै तारागाउँ विकास समितिका पदाधिकारीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको क्षेत्राधिकारमा रहेको ३०४ रोपनी जग्गा र घरमध्ये १५० रोपनी जग्गा र रु दुई करोड बराबरको घरमा गरिएको शेयर लगानीको कुनै हिसाब किताब नभएको भन्दै महालेखाले कारवाहीका लागि सिफारिस गरेको हो ।

शुरुमा ३९.७७ प्रतिशत गरिएको शेयर लगानी घटेर हाल ९.०१ प्रतिशत कायम भएको छ । यस्तै बाँकी रहेको १५४ रोपनी जग्गा पुनः मूल्यांकन गर्ने विषयमा संसद्को सार्वजनिक लेखा समितिले पटक पटक निर्देशन दिएको थियो । समितिको निर्देशनसमेत कार्यान्वयन नभएको भन्दै महालेखाले जिम्मेवार अधिकारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

यस्तै समितिको नयाँ सडकस्थित भवनको पसल भाँडाबापतको बक्यौता रु ३८ लाख ७७ हजार रहेको छ । सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाई सम्झौता तथा प्रचलित कानूनअनुसार बक्यौता असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको हो ।

सञ्चित नाफा कमाउने उद्देश्यले नै कुनै पनि व्यापार व्यवसाय गरिन्छ, तर तारागाउँ विकास समितिले सञ्चालनको २५ वर्षसम्म कुनै प्रतिफल नदिएको पाइएको महालेखाले औँल्याएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार समितिले आर्थिक वर्ष २०५०/५१ मा तारा गाउँ रिजेन्सी होटल लिमिटेडको साधारण शेयरमा रु १७ करोड लगानी भएको थियो । त्यसमा १५० रोपनी जग्गाको मूल्य रु १५ करोड र घरको मूल्य रु दुई करोड मूल्याङ्कन गरिएको थियो । लगानीबापत ३९.७७ प्रतिशत शेयर प्राप्त गरेकामा हालसम्म शेयर लगानीबाट प्रतिफल प्राप्त नभएको महालेखाले जनाएको छ ।

समितिको स्वामित्वमा रहेको, १५० रोपनी जग्गा हाल तारा गाउँ रिजेन्सी होटल लिमिटेडलाई भाडामा दिएकामा जग्गाको पुनःमूल्याङ्कन हुन सकेको छैन ।

बौद्धस्थित अधिग्रहणबाट प्राप्त ३०४ रोपनी जमिनमध्ये बाँकी १५४ रोपनी जग्गा होटल सञ्चालनमा आएको पाँच वर्षभित्र सोही होटलबाट निष्कासित १७ प्रतिशत अग्राधिकार शेयर वा साधारण शेयरमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

संसद्को सार्वजनिक लेखा समितिले २०५० साल पुस २१ गते र २०५० साल चैत १८ मा घर जग्गाको यथार्थ मूल्याङ्कन गर्न निर्देशन दिएको थियो ।

समितिले १५० रोपनी जग्गामा अन्तर्राष्ट्रियस्तरको होटल सञ्चालन गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार नै समितिले तोकेको मूल्याङ्कनलाई स्वीकार गरी प्रचलित नियमबमोजिम होटल सञ्चालन गर्न समितिसँग सम्झौता भएकोे थियो तर नियमसंगत तवरले सम्झौता नभएको र प्रतिफल कमाउन स्थापना गरिएको संस्थाले नियमअनुसार काम नगरेको भन्दै महालेखाले समितिलाई आफ्नो हितलाई ध्यानमा राखी कारवाही अगाडि बढाउनु पर्ने देखिएको जनाएको छ ।

तारागाउँ रिजेन्सी होटेल लिमिटेडले प्रकाशित गरेको आव २०७२/७३ को वित्तीय विवरणअनुसार होटेलको शेयर पूँजी रु एक अर्ब ८९ करोडको ९.०१ प्रतिशतले रु १६ करोड ९९ लाख मात्र समितिको शेयर देखिएको छ । उक्त परिमाणको शेयर र जग्गाको यथार्थ मूल्याङ्कन नभएको महालेखाको भनाइ छ ।

तारा गाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुइँटेलले महालेखाले औँल्याएको कमजोरी यथार्थसँग नजिक रहेको उल्लेख गर्दै थप अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

होटल सञ्चालकको शुरुवाती चरणमा १५० रोपनी जग्गाको मूल्यांकन गरी रु १५ करोड लगानी गरिएको भए पनि हालसम्म प्रतिफल प्राप्त हुन सकेको छैन । होटल व्यवस्थापनले शुरुमा रु २५ करोड लगानी गरेको थियो ।

हाल सो होटलको अध्यक्षमा भारतीय नागरिक राधेश्याम सर्राफ, अरुण सर्राफ प्रबन्ध निर्देशक, दिनेशलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठलगायतले व्यवस्थापन गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !