१६ वैशाख, काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार सुस्ताएको छ । नेप्से परिसूचक ८.२१ अंकले घटेर १३४९.०१ को विन्दूमा सीमित हुन पुगेको छ भने कारोबार रकम पनि ४० करोड ३५ लाखमा सीमित भएको छ ।
बजारमा कारोबार रकम र इण्डेक्स समानान्तर ढंगले घट्न थाल्नु भविष्यका लागि सुखद संकेत मानिदैन । यस्तो प्रवृति केही दिनसम्म निरन्तर रहे भविष्यमा बजार घट्ने डर हुन्छ ।
आइतबार बैंकिङ समूह ११.०६ अंकले घट्यो । यस्तै, जलविद्युत समूहमा १.२३ अंक, बित्त समूहमा ५.८१ अंक, माइक्रोफाइनान्स समूहमा ४.०७ अंक तथा अन्य समूहमा ८.७ अंकको गिरावट देखियो ।
यो दिन होटल समूह ३५.१८ अंकले बढ्यो । यस्तै, बिमा समूह २.४१, विकास बैंक समूह ४.४३ अंक, व्यापार समूह ०.७६ अंक र उत्पादनमूलक समूह ८.१८ अंकले बढे ।
यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स २.१ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.६८ अंकले घट्यो।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६१ कम्पनीका९ लाख ६६ हजार ८ सय २९ कित्ता सेयर ४० करोड ३५ लाख ४८ हजार ६८ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी राष्ट्रिय बिमा कम्पनी लिमीटेडले १ करोड ५० लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४७ लाख, एनआइसी एशियाले १ करोड ४० लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४० लाखको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले १ करोड ३२ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड, प्रभू बैंकले ९९ लाख, सिभिल बैंकले ८३ लाख ५९ हजार बढीको कारोबार गरे । राष्ट्रिय बिमा कम्पनीको ९९ लाख बढीकै संस्थापक सेयर किनबेच भएको बजारमा नेशनल लाइफ इन्स्योरेन्सले ८० लाख बढीको कारोबार गर्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वदेशी लघुवित्तले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य साढे ५ प्रतिशतको हाराहारीमा बढ्यो ।
यो दिन वरुण हाइड्रोपावर कम्पनी लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो ।