५ जेष्ठ २०८१, शनिबार

बजेटको आकार धेरै बढाउनु हुँदैन्  : पूर्व अर्थमन्त्री कोइराला


Shankar Koirala

१६ बैशाख, काठमाण्डौ । पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाले वर्तमान सरकारको एकमात्रै उद्देश्य अब समृद्धि हाँसिल गर्नु भएकोले सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘सरकारलेसमृद्धि हाँसिल गर्नको लागि सरकारले अब काम गराईको गति बढाउनुपर्छ, उत्पादनको स्केल बढाउनुपर्छ र सिप तथा दक्षतालाईपनि ध्यान दिनुपर्छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कोइरालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मुलुकमा समृद्धि प्रदान गर्ने विश्वास दिलाएका छन् । प्रायः दलहरुबीच समृद्धि हाँसिल गर्ने कुरामा एकरुपता रहेको उनको भनाई थियो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले दलहरुका समृद्धिका एजेण्डाहरु करिब–करिब उस्तै रहेको स्पष्ट पारे । उनले भने,‘विद्युतको सवालमा अब कांग्रेसले दश वर्षमा दश हजार मेगावाट उत्पादन गर्छौं भनेको छ, एमाले–माओवादी केन्द्रले दश वर्षमा १५ हजार भनेका छन्, खाली संख्याको कुरामा मात्रै तलमाथि हो, सबैले एजेण्डा त त्यही उठाएका छन्।’

वर्तमान सरकार ५ वर्षको लागि गठन भएकोले अब स्थायित्व कायम हुने उनको भनाई थियो । उनले भने,‘कम्तिमा यो सरकारले आगामी पाँच वर्षसम्मको लागि काम गर्छ, खुट्टा टेक्ने सरकार आएको छ।’ सरकारले पहिलोपटक ‘फुल फ्लेज्ड’ संघीय बजेट ल्याउने भएकोले यसको लागि विशेष ध्यान दिनुपर्ने कोइरालाको सुझाव छ।

कोइरालाले कम्तिमा आगामी पाँच वर्षसम्मकोलागि स्थानीय तथा प्रदेश सरकारलाईपनि केन्द्रबाटै बजेट बिनियोजन गर्नुपर्ने बाध्यता रहेकोले सरकारले त्यसमा विशेष ध्यान दिनुपर्ने बताए । ‘आत्मनिर्भर बन्न समय लाग्छ, त्यसैले यो पाँच वर्षको लागि केन्द्रिय सरकारले नै स्थानीय तथा प्रदेश सभालाई बजेट व्यवस्थापन गरिदिनुपर्छ।’–उनले भने।

उनले संविधानको मर्म र भावना अनुसार नै प्राकृतिक स्रोत तथा वित्तिय आयोग तत्काल गठन गर्न सरकारलाई सुझाव दिए । सरकारले निजी क्षेत्रलाई साथमै लिएर जाने र वैदेशिक लगानी भित्र्याउने कुरा गरेकोले समृद्धि हाँसिल गर्न सजिलो हुने उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको भारत भ्रमणमा पनि नेपाल लगानीको लागि राम्रो देश भएकोले सरकार उदार हुने धारणा राखेको उनले जनाए ।

कोइरालाले बजेटको आकार धेरै बढाउन नहुने धारणा राखे । ‘अहिलेको बजेटको आकारभन्दा करिब १० प्रतिशत बढि जाँदा राम्रो हुन्छ’ उनले भने,‘विगतमा ह्वात्तै बजेटको आकार ठूलो बनाउँदा समस्या आएको भन्ने कुरा त वर्तमान अर्थमन्त्रीले बताउनुभएको छ।’

वर्तमान सरकार आफ्ना प्राथमिकतामा कुनै अलमलमा नरहेकोपनि उनको विश्वास छ । सरकारसामू वित्तिय व्यवस्थापन र स्रोत तथा साधन बाँडफाँडमा चूनौति रहेको उनले जनाए । ‘बरु अब सरकारले समृद्धि कायम गर्नको लागि काम गर्ने शैलीमा परिवर्तन गर्न जरुरी छ, स्पिड बनाउनुपर्यो, स्केल बढाउनुपर्यो र स्किल बढाउनुपर्छ, यो तीन वटा एसमा सरकारले दिओस् भन्ने मेरो सुझाव छ।’–उनले थपे ।

तामाकोशी, बुढीगण्डकी जस्ता राष्ट्रिय गौरवका जलविद्युत आयोजनाहरु र उत्तर–दक्षिण कोरिडोर, पूर्व–पश्चिम रेलमार्ग, मध्यपश्चिम हुलाकी राजमार्ग लगायतका आयोजनाहरुलाई अब अगाडि बढाउनुपर्ने उनले बताए ।

नेपालले राजनीतिक कुटनीति गर्न नसक्ने बताउँदै उनले अब सरकारले आर्थिक कुटनीतिमा बढि जोड दिनुपर्ने सुझाए । उनले भने,‘नेपालका डिप्लोमेटिक मिसनहरुलाईपनि सोही अनुसार चलायमान बनाउनुपर्छ।’

नेपाल र भारतबीच १९९६ मा भएको व्यापार सन्धि अनुसार नेपालका सामानहरु निर्वाद रुपमा भारत निर्यात हुन पाउनुपर्ने बताउँदै कोइरालाले भने,‘तर अहिले भारतले नेपालका सामानहरु भित्र्याउने कुरामा अलिक बढि कडाई गरेको छ, यस विषयमा सरकारले कुरा गर्नुपर्छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !