५ जेष्ठ २०८१, शनिबार

मेयरमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन


Ishwor_pokharel

११ वैशाख, भक्तपुर । रक्षामन्त्री इश्वर पोखरेलले मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषर भक्तपुरका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

सोमबार श्रेष्ठको स्वास्थ्य अवस्थाबारे बुझ्न मध्यपुरथिमी नगरपालिकाद्वारा सञ्चालित कोरिया मैत्री अस्पतालमा पुग्नु भएका मन्त्री पोखरेलले प्रजिअ द्रोण पोखरेल र प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण राणालाई फोनबाट यस्तो निर्देशन दिनुभएको हो ।

गएको शनिबार साँझ चार जना व्यक्तिको आक्रमणमा घाइते भएका नगरप्रमुख श्रेष्ठसँग घट्नाबारे मन्त्री पोखरेलले जानकारी लिनुभएको थियो । रक्षा मन्त्रीले नगरप्रमुखमाथि आक्रमण हुदाँको दृश्य मोबाइलमा हेरेपछि सीसी क्यामराको माध्यमबाट आक्रमणकारी चिन्न सकिने अवस्थामा हुँदा हुँदै पनि प्रहरीले घट्ना भएको ४८ घण्टासम्म आक्रमणकारी पक्राउ नगरेको भन्दै चासो लिनुभएको थियो । उहाँले गृहमन्त्रीलाई भेटेर यसबारे जानकारी गराउने समेत बताउनुभयो ।

सोमबार साँझ नगर प्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नु भएका संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सुरक्षा व्यवस्थाबारे चासो दिनुभएको थियो ।

मोबाइलबाट श्रेष्ठमाथि भएको आक्रमणको दृश्य हेर्दै आक्रमणकारीलाई तत्काल पक्राउ गर्न र प्रमुख श्रेष्ठको सुरक्षाको व्यवस्था गर्न आफूले पहल गर्ने बताउनुभयो ।

सोमबार साँझ नै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उप–प्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र लगायतले नगर प्रमुख श्रेष्ठलाई अस्पतालमा पुगेर भेट गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !