२९ चैत, काठमाण्डौ । दुई जलविद्युत कम्पनीले ५ करोड ७१ लाख रुपैयाँ बराबरको ५ लाख ७१ हजार कित्ता आईपिओ निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र शुभम् पावर लिमिटेडलाई आईपिओ निष्कासनको अनुमति दिएको हो ।
दुवै कम्पनीलाई धितोपत्र बोर्डले आयोजना प्रभावित स्थानीयबासीका लागि आईपिओ जारी गर्न स्वीकृति दिएको हो । दुवै आयोजना संखुवासभामा रहेका छन् ।
जोशी हाइड्रो
धितोपत्र बोर्डले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई पहिलो चरणमा ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४ सय कित्ता आईपिओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले स्थानीयलाई १० प्रतिशत सेयर दिनुपर्ने नियम छ ।
स्थानीय सहित सर्वसाधारणमा ३० प्रतिशत सेयर जारी गर्ने सम्भावनालाई आधारमान्दा कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि ७ करोड ४२ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ४२ हजार ८ सय कित्ता सेयर जारी हुन सक्ने सम्भावना रहेको छ ।
जोशीले संखुवासभामा ३ मेगावाटको माथिल्लो पुवा आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । बिसं २०७१ माघ १ गतेबाट यो आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन थालेको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
शुभम पावर कम्पनी
यस्तै धितोपत्र बोर्डले शुभम् पावर कम्पनी लिमिटेडलाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आइपिओ निष्कासनका लागि अनुमति दिएको हो । शुभम पावरले पनि आयोजना प्रभावित स्थानीयबासीका लागि आइपिओ जारी गर्न लागेको हो ।
स्थानीबासीलाई सेयर बिक्री गरेपछि कम्पनीले सर्वसाधारणलाई चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता सेयर निष्कासन गर्नेछ ।
कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला हाइड्रोइलेक्ट्रिक आयोजना सञ्चालन गरिरहेको छ ।
शुभमको बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रेहको छ ।