३ आश्विन २०८१, बिहीबार

प्रचण्डले भने,“नेपालमा अब समृद्धिको युग सुरु भयो”


chairman prachanda

१८ चैत काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताएका छन् । उनले भने,“नेपालमा अब समृद्धिको युग सुरु भयो, क्लबले जुन किसिमले यसबारे पहलकदमी लिएको छ, यसका अध्यक्ष ऋषिजीको भूमिका प्रंशसनीय छ, समृद्धिको यात्रा प्रारम्भ भएको छ ।”

शनिबार काठमाण्डौको राष्ट्रिय सभागृहमा रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्व एवम् पुरस्कार वितरण समारोह–२०७४ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि जनताले साथ दिएको भन्दै उनले अब जनताको अपेक्षा पूरा गर्ने समय आएको बताएका हुन ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा सरकारका लागि यतिवेला चुनौति र अवसर दुवै भएको भन्दै प्रचण्डले यस्तो अवसर र चुनौति इतिहासमा पटक पटक नआउने बताए ।

“खास–खास बेलामा मात्रै आउने अवसर र चुनौति अहिलेको सरकारको काँधमा आएको छ । सरकारले सम्पूर्ण नेपालीहरुलाई विश्वास र एकताको सुत्रमा लिएर काम गर्नुपर्छ ।” प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले जनताको अपेक्षा पूरा गर्नेगरी सुशासन र समृद्धिको यात्रामा जानसक्ने वा नसक्ने भन्नेबारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार अग्निपरिक्षामा रहेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने,“प्रधानमन्त्रीज्यू, अग्निपरिक्षामा हुनुहुन्छ । हामी सबै नेतृत्वकर्ताहरु पनि अग्नि परीक्षामा छौँ ।”

कुनैपनि देशले ठूलो क्षति र पीडाको बिचबाट गुज्रेपछि नै राष्ट्रले छिटो–छिटो समृद्धिको यात्रा तय गर्ने बताउँदै प्रचण्डले अब नेपाल पनि समृद्धिको बाटोमा हिँड्ने विश्वास दिलाए ।

प्रकृतिले दिएको स्रोत र साधनको सही सदुपयोग गरेर देश विकास गर्नुपर्ने उनको धारणा थियो । राजनीतिक परिवर्तनपछि अब रुमल्लिनुपर्ने कुनैपनि कारण नभएको भन्दै उनले विखण्डन, आन्दोलन र हिंसाका कुरा गर्न नहुने बताए ।

“फेरीपनि विखण्डन, आन्दोलन, हिंसाको कुरा गर्नु भनेको दुर्भाग्यपूर्ण हो । त्यो नेपाली जनतालाई सह्य हुने कुरा पनि छैन ।” प्रचण्डले भने ।

सुशासन र समृद्धिभन्दा बाहिर गएर कसैले गतिविधि गरे नेपाली जनता आफैँले निस्तेज पार्न अगाडि आउने स्थिती बन्ने उनले चेतवानी दिए ।

क्रान्ति गर्ने भन्दै हिँडेको नेत्रविक्रम चन्द विप्लवप्रति संकेत गर्दै प्रचण्डले भने, “सबै राजनीतिक शक्ति र प्रवृत्तिलाई अवसरको सदुपयोग गर्न आग्रह गर्छु । जनतामा भ्रम छर्ने गतिविधि नगरौँ ।”

रिपोर्टर्स क्लब नेपालले समृद्धिको यात्रा विषयमा पत्रकारितालाई केन्द्रित गर्नुपर्ने अभियान सुरु गरेकोमा धन्यवाद दिँदै प्रचण्डले यो अभियान सबैको साझा भएको बताए ।

“सरकारले पनि यसैमा पाइला चाल्दैछ । अब संचार जगतलगायत सबैले यो अभियान अगाडि बढाऔँ । सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गर्ने हो भने समृद्धि सम्भव छ ।” उनले भने ।

अध्यक्ष प्रचण्डले भारत र चीन दुवै छिमेकी राष्ट्रसँग राम्रो सम्बन्धन बनाएर देश विकास गर्नुपर्ने बताएका छन् ।

वार्षिकोत्वसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुवै देशबाट विकासका लागि लाभ लिनुपर्ने बताएका हुन् ।

विगतमा राजनीतिक दल वा नेतालाई भारतपरस्त र चीनपरस्त भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै उनले अबका दिनमा त्यस्तो आरोप प्रत्यारोपको वातावरण अन्त्य गर्नुपर्ने बताए ।

“हामी सबै प्रो–नेपाल, प्रो–नेपाली, दुवै छिमेकीसँग राम्रो सम्बन्ध गाँस्नुपर्छ । आर्थिक विकासका लागि सहयोग लिनुपर्छ । आरोप प्रत्यारोपको अन्त्य गरौँ ।” दाहालले भने ।

नेपालमा विदेश नीतिका सम्बन्धमा फुटाउ र राज गर भन्ने प्रवृत्ति देखिने गरेको उल्लेख गर्दै प्रचण्डले राष्ट्रिय एकता हुन नदिने चलखेल रोक्नका लागि छिमेकीहरुसँगको सम्बन्ध सन्तुलित बनाइने बताए ।

“अब समय फेरिएको छ । नेपाली जनता सार्वभौम छन् । जनता विभाजित होइन, एकतावद्ध बनाउनुपर्छ ।” प्रचण्डले भने ।

अबको विदेश नीति र आन्तरिक राष्ट्रिय नीतिका सन्दर्भमा पत्रकारिताको क्षेत्रबाट राष्ट्रिय एकतामा सहयोग पुर्याउन उनले आग्रह समेत गरे ।

अध्यक्ष प्रचण्डले क्लबको कार्यक्रमको मञ्चबाटै एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको घोषणा गरिदिए । “ऋषि धमलाले पार्टी एकताको घोषणा गर भन्नुभयो, ल घोषणा भयो । घोषणा भइनैसक्यो । म १४ वर्ष वनवास बसें, ओलीजीपनि १४ वर्ष जेल बस्नुभयो, मेरो र उहाँको वनवास र जेलवास नेपाली जनताकै लागि थियो, अहिले हामीले पाएको अवसरको सदुपयोग गर्छौँ, पार्टी एकता हुन्छ ।”

त्यस्तै अध्यक्ष प्रचचण्डले क्लब २० औं वार्षिकोत्सव मनाएकोमा बधाई दिँदै आगामी दिनमा अझै धेरै सफलता मिलोस् भन्ने शुभकामना दिए । उनले धमलालाई आफूले केही वर्ष पहिले माया बैगुनी नभई नहुने भनेर भनेको भएपनि अहिले समय त्यस्तो नरहेको बताउँदै धमलालाई मायालुकै संज्ञा दिनुपर्ने बताए ।

प्रचण्डले आफू शान्ति प्रक्रियामा आएलगत्तै पहिलोपटक पत्रकार धमलासँग अन्र्तवार्तामा बसेको स्मरण गराए । उनले भने,“अब ऋषिजी माया मायालु नै हो, उहाँलाई म धेरै धेरै बधाई दिन चाहन्छु, म भर्खरै शान्ति प्रक्रियामा प्रवेश गर्ने क्रममा ०६३ साल असार २ गते बालुवाटार प्रवेश गरेको थिएँ, पहिलो पटक भेट्ने पात्र ऋषि धमला नै हुनुहुन्थ्यो । म थाकेको थिएँ । मलाई उहाँले अन्र्तवार्ता दिन बाध्य बनाउनुभयो, र अन्ततः मैले उहाँलाई अन्र्तवार्ता दिएँ त्यो पनि रातको १ बजे । मैले उहाँलाई पहिले माया बैगुनी नभई नहुने । धेरै माया पनि नगर्ने, तर नभई नहुने भनेको थिएँ, त्यो भन्ने जमाना गयो, माया मायालु नै भन्ने समय आयो, यस अवसरमा म धन्यवाद भन्न चाहन्छु ।”

क्लबका सभापति धमलाले मौलिक तरिकाले अभियान सुरु गरेको उल्लेख गर्दै प्रचण्डले भने,“उहाँको निरन्तर प्रगति होस् । सफलता मिलोस् । हृदयदेखि शुभकामना भन्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !