६ जेष्ठ २०८१, आइतबार

कटारी गोल्डकप उपाधिका लागि झापा ११ सँग संकटाले प्रतिष्पर्धा गर्ने


फुटबल

१६ चैत, उदयपुर। उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपमा गोर्खा ब्वाइज रुपन्देहीलाई ३–० को गोल गर्दै संकटा क्लब काठमाडौं फाइनलमा प्रवेश गरेको छ ।

बिहिबारको दोस्रो सेमीफाइनलमा संकटाका लागि २९ औं मिनेटमा फ्रि किकको सदुपयोग गर्दै प्रकाश बुढाथोकीले गोलको खाता खोलेका थिए । पहिलो हाफ १–० ले अग्रता लिएको संकटाका लागि ८७ औं मिनेटमा १२ नम्बर जर्सीका नाइजेरियन खेलाडी इब्राहिम कोउडियाले आकर्षक गोल गर्दै गोल अन्तर २–० मा पुर्याए ।

त्यसैगरी ९० औं मिनेटमा संकटाका १६ नम्बर जर्सीका सन्त गुरुङ्गले तेस्रो गोल गरे । रुपन्देहीले पहिलो हाफमा पटक–पटक गोल गर्ने अवसर पाए पनि अवसरको सदुपयोग गर्न सकेन ।

रुपन्देहीका १५ नम्बर जर्सीका दिपक राईले दोस्रो हाफमा गरेको आकर्षक प्रहार बारमा लागेर फर्किएको थियो । खेलको म्यान अफ द म्याच संकटाका १२ नम्बर जर्सीका इब्राहिम कोउडिया घोषित भए । उनलाई इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मेघराज अधिकारीले नगद ५ हजार रुपैयाँका साथमा प्रमाण–पत्र र मेडल प्रदान गरे ।

उपाधिका लागि शनिबार संकटाले झापा ११ सँग प्रतिष्पर्धा गर्नेछ । गएको शनिबारदेखि जारी गोल्डकपमा ३ डिभिजन लिग खेलेका टिमसहित ८ टिमको सहभागिता थियो ।

गोल्डकप बिजेताले नगद ५ लाख रुपैयाँका साथमा ट्रफी हात पार्नेछ भने उप–बिजेताले नगद २ लाख ५१ हजार हात पार्ने मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताए । कटारी नगरपालिकाको सहकार्य र साथि समूहको संयोजनमा गोल्डकप आयोजना गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !