७ बैशाख २०८१, शुक्रबार

प्रहरीमा नेतृत्व फेरिँदै, यी हुन्  मुख्य प्रतिष्पर्धी


११ चैत, काठमाण्डौ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजीपी रिक्त हुने मिति नजिकिएसँगै दुवै संगठनको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । ३० वर्षे सेवा हदका कारण प्रहरी संगठनका आईजीपीले २८ चैतमा अनिवार्य अवकाश पाउँदैछन् ।

नेपाल प्रहरीको ऐन– नियमवालीअनुसार ३० वर्षे सेवा हदका कारण चैत २८ गते आईजीपी प्रकाश अर्यालसहित १५ जना एआईजीले अनिवार्य अवकाश पाउँदैछन् । चैत २९ गतेबाटै लागु हुनेगरी सरकारले नेपाल प्रहरीको २६ औं आईजीपी अर्थात् नयाँ नेतृत्व नियुक्त गर्नुपर्ने हुन्छ ।

नयाँ आईजीपीका लागि प्रहरीमा ३ अनुहारको चर्चा छ । डीआईजीत्रय सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्येबाट नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने निश्चित छ । खनाल, खरेल र कार्की तीनैजना २०४६ का व्याजी हुन् । नेपाल  प्रहरीमा तीनजनाकै आफ्नै क्षमता र काम गर्ने पृथक शैली छ । डीआईजीको वरियतामा सर्वेन्द्र खनाल एक नम्बरमा छन् भने खरेल दुई र कार्की तीन नम्बरमा छन् ।

Sarbendra-Khanal

सर्वेन्द्र खनाल

डीआईजीको वरियतामा सर्वेन्द्र खनाल एक नम्बरमा छन् भने खरेल दुई र कार्की तीन नम्बरमा छन् । खनालले एसएसपीसम्म आइपुग्दा तराईदेखि अन्य विभिन्न जिल्लाको कमाण्ड गरिसकेका छन् । खनालले यसअघि धनुषा, तत्कालीन अञ्चल प्रहरी कार्यालय नारायणी, काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्व गरिसकेका छन् । कुख्यात भारतीय अपराधी बब्लु दुवेको पक्राउदेखि कुमार घैंटेको इन्काउन्टरसम्मको अपरेसन गरेका खनालले नेपाली फुटबलको म्याच फिक्सिङको पर्दाफास गरेर पनि चर्चा बटुलेका थिए । खनाल अहिले ट्राफिक प्रहरी महाशाखाको प्रमुख छन् ।

Ramesh Kharel

रमेश खरेल

रमेश खरेल पनि चर्चित प्रहरी अधिकारी हुन् । खरेलले २ पटक काठमाडौं प्रहरी परिसरको नेतृत्व समेत सम्हाले । काठमाडौंमा गुण्डागर्दी नियन्त्रणदेखि पर्साको तस्करी सञ्जाल तोडेपछि उनको चर्चा चुलिएको थियो । प्रहरी संगठनभित्र उनी खरो अधिकृतका रुपमा चिनिन्छन् । एमाले नेता वामदेव गौतमसँग एक कार्यक्रममा ‘सुटकेश बोकेर तपाईंकोमा हाकिमहरु आउलान्’ भनेपछि उनी केही विवादमा पनि मुछिएका थिए । खरेललाई तराईका जिल्ला र फिल्डमा काम गरेको अनुभव कम छ । खरेल अहिले सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।    

 

Puskar Karki

पुष्कर कार्की

आईजीका अर्का दाबेदार हुन् डीआईजी पुष्कर कार्की । कार्कीले काठमाडौं प्रहरी परिसर, अपराध महाशाखा, गोरखा र कास्कीलगायत जिल्लाको कमाण्ड गरिसकेका छन् । राष्ट्रसंघीय मिसनमा सबैभन्दा उच्च तहमा बसेर काम गरेका प्रहरी अधिकारी कार्की प्रहरी सुधार र व्यवस्थापनमा चासो राख्छन् । हाल केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख रहेका कार्कीको नेतृत्वमा अपराधी मनोज पुन ग्याङ समातिएको छ भने काठमाडौंमा छात्रामाथि एसिड प्रहार गर्ने तथा टेकु, ठमेल र न्युरोडमा गोली हान्ने समूहको पहिचान भएको छ । त्यस्तै, नक्कली चिनियाँ डाक्टर समातिएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !