२० कार्तिक २०८१, मंगलबार

दुई तिहाईले पेल्न खोजे मानिदैन : देउवा


sher bahadur dewa

४ चैत, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले दुई तिहाईको घमण्ड देखाएर पेल्न खोजे नमान्ने बताउनुभएको छ ।

चितवनमा सुरु भएको नेपाल निजामती कर्मचारी युनियन (संघ) को सातौं महाधिवेशनको उद्घाटन गर्दै नेता देउवाले दुई तिहाईको घमण्ड गरी नेपाली सेना, प्रहरी, कर्मचारी प्रशासन, संवैधानिक निकायमा हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो ।

संवैधानिक निकाय र न्यपालिकामा समेत हस्तक्षेपको संकेत देखिएको बताउदै देउवाले कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद कांग्रेसले स्वीकार्न नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा रहेको बताउदै उहाँले कर्मचारीलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । देउवाले कहीकतै हस्तक्षेप भए नेपाली कांग्रेसले कडा विरोध गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार दुई तिहाइको घमण्डमा स्वेच्छाचारी र सर्वसत्तावादतिर जान खोजेको बताउनुभयो ।

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा ५ सय ७० प्रतिनिधि र २०० पर्यवेक्षक सहभागी रहेका संघले जनाएको छ ।

यूनियनका अध्यक्ष सुवोधकुमार देवकोटाले महाधिवेशनले संघीय संरचना अनुसारको विधान अनुमोदन गर्दै ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जानकारी दिनुभयो ।

संघको ७७ जिल्ला समिति र मन्त्रालय र विभाग गरी ४६ विभागीय कार्यसमिति रहेका छन् भने २८ हजार पाँच सय सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !