७ जेष्ठ २०८१, सोमबार

ठेउलाका बिरामी बढे


३ चैत, काठमाण्डौ । काठमाण्डौमा ठेउलाका बिरामी बढेका छन् ।
गर्मी सुरु भएकाले ठेउलाका बिरामी बढेको डाक्टरहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गर्भवतीलाई ठेउला भए बच्चाको ज्यान जाने वा अपाङगता हुने खतरा धेरै हुन्छ ।
ठेउला सजिलै सर्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ । यस्तै बालबालिका र लामो समयदेखि औषधि खाइरहेकालाई ठेउला भए निमोनिया र नशा सम्बन्धी समस्या हुने उहाँले बताउनुभयो ।
ज्वरो आउने, थकान बढ्ने, आलश्य हुने, टाउको दुख्ने र शरीरमा बिमिरा आउनु ठेउलाका लक्षण हुन् । यी लक्षण देखिएको एकदुई दिनमा साना बिमिरा रातो ठूलो फोका बन्ने र मुखबाट छाती, ढाड हुँदै शरीरभरी नै फैलने गर्छ ।
यो हावा तथा पानी फोका छोए मात्रै पनि सर्ने भएकाले ठेउला भएका व्यक्ति सकेसम्म अरुभन्दा टाढा बस्ने र भिडभिडमा नजाने तथा आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिन डाक्टर पुनले सुझाव दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !