६ बैशाख २०८१, बिहिबार

‘तिलाको पुल’ निर्माण : स्थानीयवासी खुशी


पुल निर्माण

खलङ्गा । जुम्लाको तिला गाउँपालिका र जाजरकोट जोड्ने तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी खुशी भएका छन् ।

पुल निर्माणले कर्णाली राजमार्ग हुँदै यहाँको भेरीखोला र जाजरकोटसम्म यात्रा गर्नका लागि सजिलो हुने भएकाले स्थानीयवासी खुशी भएका हुन् । हिउँदको समयमा नदी सुकेपनि वर्षायाममा निकै ठूलो हुने गरेको स्थानीयवासी वसन्ती रावलको भनाइ छ । “हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ”, उहाँले भन्नुभयो, “तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासीलाई अब सहज हुने भएको छ ।”

तिला नदीको त्रिवेणीमा ५२.१५ मिटरको पक्की पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बताउनुभयो । रु चार करोड १२ लाखको लागतमा पुल निर्माण सम्पन्न भएपछि जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का नागरिकलाई सदरमुकाम खलङ्गा आवतजावत गर्न सजिलो भएको छ भने जाजरकोट जाने यात्रुलाई समेत सहज भएको स्थानीयवासीको भनाइ छ ।

पुल निर्माणका लागि विसं २०७३ असार ५ सम्झौता भएको थियो । तत्कालीन प्राविधिक कार्यालयबाट शुरु भएको सो पुलको निर्माण कार्य विसं २०७५ जेठ ३१ गते सम्पन्न हुनुपर्ने थियो । लामो समयसम्म अलपत्र अवस्थामा रहेको सो पुलको निर्माण सङ्घीय सरकारको आर्थिक सहयोगबाट भएको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रावलका अनुसार कर्णाली प्रदेशकै पहिलो हाइरिक्स तरिकाले यसको निर्माण भएको छ । जाजरकोटबाट जुम्ला भित्रन सबैभन्दा सजिलो मार्गका रुपमा यसलाई विकास गर्न लागिएको छ । अहिले जुम्ला र सिमाना इमिल्चा हँुदै जाजरकोटसम्म पुग्नका लागि रु दुई करोड १९ लाखको लागतमा कच्ची बाटो निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले पुल निर्माण भएपछि यस क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुने बताउनुभयो । साविक कर्णालीको मुकाम जुम्लाको तिला नदीमा पुल नहुँदा जाजरकोटमा गाडी सञ्चालन हुन ढिलाइ भइरहेको थियो, पुल निर्माण भएपछि अब सजिलो हुने उहाँको विश्वास छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !