जाजरकोट । भवन अभावका कारण खुला चौरमा पढाइ भइरहेको चर्चा बटुलेको भेरी नगरपालिका–५ काफलचौरस्थित बहुप्राविधिक शिक्षालयमा भवन निर्माण गरिएको छ । भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको अस्थायी पूर्वाधार तथा खानेपानी योजना निर्माण गरेको छ । छ महिनाअघि राससबाट ‘प्राविधिक शिक्षालयका विद्यार्थी खुला चौरमा पढाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
समाचार छापिएलगत्तै सरोकारवाला निकायले पहलकदमी लिँदा अहिले भवन, खानेपानी र शौचालय निर्माण गरिएको छ । रु २५ लाख ३५ हजार लागतमा नगरपालिकाले जाजरकोट बहुप्राविधिक शिक्षालयको ट्रस भवन निर्माण गरेको हो । त्यस्तै खानेपानी तथा सिँचाइ ऊर्जा विकास कार्यालय र नगरपालिकाको रु २० लाख २९ हजार ९५९ लागतमा खानेपानी योजना निर्माण गरेको छ ।
प्राविधिक शिक्षालयको तीनकोठे ट्रस भवन निर्माणपछि विद्यार्थीले खुलाचौरमा पढ्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । तीन वर्षअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति पाई जाजरकोट बहुप्राविधिक शिक्षालयले भवन तथा पूर्वाधारबिना नै गत पुसदेखि पठनपाठन सञ्चालन गर्दै आएको आएको थियो । भवनबिना नै सञ्चालन गरिएको प्राविधिक शिक्षालयका विद्यार्थी खुलाचौरमा कार्पेट बिछ्याएर पढिरहेका थिए भने शिक्षकले बाँसको पोलमा सेतोपाटी झुण्ड्याएर पढाइरहेका थिए ।
नगरपालिकाले शिक्षालयको तीनकोठे ट्रस भवन निर्माण गरिदिएपछि वर्षा हँुदा र चर्को घाम लाग्दा शिक्षालयको पढाइ बन्द गर्नुपर्ने अवस्थाको अन्त्य भएको नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । बाइस रोपनी जग्गाबाहेक अरु कुनै पनि भौतिक पूर्वाधारबिना नै सञ्चालन गरिएको प्राविधिक शिक्षालयमा पहिलो वर्ष वन विज्ञानमा ३७, सिभिल इञ्जीनियरिङमा ४८ र पशु विज्ञानतर्फ २९ विद्यार्थीले अध्ययन गरिरहेको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले बताउनुभयो ।
भवन र फर्निचर अभावमा प्राविधिक शिक्षालयले ल्याबको प्रयोग गर्न सकिरहेको थिएन । शौचालय नहुँदा दिसापिसाबका लागि जङ्गल धाउनुपर्ने, खानेपानी अभावमा एक घण्टाको पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको नगरप्रमुख घर्तीले बताउनुभयो ।
काफलचौरमा रहेको शिक्षालय र विजय माध्यमिक विद्यालयमा दुईवटा संयुक्त धारा सञ्चालन हुने गरी नगरपालिकाले खानेपानी योजना सम्पन्न गरेपछि घण्टौँ समय लगाएर गाग्रीमा बोकेको पानी पिउनुपर्ने बाध्यता हटेको छ । प्राविधिक शिक्षालयमा पाँच र माविमा पाँचवटा धारा एकसाथ चल्ने गरी दुईवटा संयुक्त धारा निर्माण भएको इञ्जीनियर नवराज शर्माले जानकारी दिनुभयो । वडा नं ६ को भेरेमा रहेको खानेपानी मुहानबाट काफलचौरसम्म आठ किलोमिटर लामो पाइपमार्फत पानी आपूर्ति गरिएको छ ।
नेपाल शहरी शासकीय क्षमता एवं पूर्वाधार परियोजनाको रु २० लाख २२ हजार ९५९ लागतमा मुहानमा इन्टेक, एक ट्याङ्की र दुईवटा संयुक्त धारा निर्माण गर्नुका साथै आठ किलोमिटर पाइप लाइन बिच्छ्याएर उक्त पानी ल्याइएको हो । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले ३२ र २५ एमएमको आठ हजार मिटर पाइप सहयोग गरेको इञ्जीनियर शर्माको भनाइ छ ।