८ बैशाख २०८१, शनिबार

क्रिकेटरसँग यसरी मनाए प्रधानमन्त्री ओलीले ६७ औं जन्मोत्सव


bi

११ फागुन, काठमाण्डौ । धानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो ।

खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए ।

गत साता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपाली क्रिकेट टोलीका सदस्यलाई सोमबार स्वागत गर्ने क्रममै प्रधानमन्त्री ओलीले शुक्रबार जनही ३ लाख नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए । त्यहीअनुसार जन्मदिनमा केक लिएर बालकोट र बालुवाटार धाउने थुप्रै शुभेच्छुकहरुबाट शुभकामना लिने व्यस्तताका बीच प्रधानमन्त्री ओलीले शुक्रबार निर्धारित समयभन्दा डेढ घन्टा ढिलो बालुवाटार पुगेर क्रिकेटरहरुसँग केक काटे ।

प्रधानमन्त्री निवास बालुवाटारको निजी सचिवालय हलमा नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यलाई सरकारका तर्फबाट ३ लाख तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट १ लाखका दरले प्रदान गरेलगत्तै प्रधानमन्त्री ओलीले केक काटेर राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई खुवाए । मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले प्रधानमन्त्रीको जन्मदिन मनाउन ‘बर्थडे केक’ ल्याएका थिए ।

त्यसअघि पारसले प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिँदै ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षमा देशमा क्रिकेट र फुटबलका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने अपेक्षा राखेका थिए । जिम्बाब्वेमा फागुन २० बाट सुरु हुने विश्वकप छनोटको विशेष तयारीका लागि शनिबार त्यसतर्फ जान लागेको टोलीलाई प्रधानमन्त्री ओलीले सम्मानकै अवसरमा विदाई पनि गरे ।

सम्मान तथा विदाईका अवसरमा प्रधानमन्त्री ओलीले क्रिकेट टोलीको सफलतालाई ‘नेपाल सम्बृद्धिको बाटोमा अघि बढ्न लागेको लक्षण’ भनेर बयान गरे ।

‘खेलकुद समग्र राष्ट्रलाई एक ठाँउमा उभ्याउने एक उत्तम सुत्र हो । म नेपाली क्रिकेट टोलीलाई जिम्बाव्बे भ्रमणका लागि शुभकामना दिदै थप सफलताको कामना गर्न चाहन्छु । नामिबियमा हात पारेको सफलताले जिम्बाव्बेमा पनि निरन्तरता पाओस भन्ने चाहन्छु,’ ओलीले भने, ‘सरकार राष्ट्र विकासमा समग्र खेल क्षेत्रले पुर्‍याउने योगदानका बारेमा जानकार छ । म यसै कार्यक्रम मार्फत अबको नेतृत्वले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै त्यही अनुरुपका कार्यक्रम ल्याउने विश्वास दिलाउन चाहन्छु।’

राष्ट्रिय टोलीका कप्तान पारसले सिमित श्रोत र सधानका बावजुद नेपाली क्रिकेट टोलीले उपलब्धि हात पारेको भन्दै आगामी दिनमा थप सफलताका लागि सरकारले समग्र खेल क्षेत्रमा उल्लेख्य लगानी गर्दै खेलाडीलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

‘हामीले सधै नेपालको झण्डाका लागि खेलेका छौं र अझ मिहिनेत गर्दै नेपाली क्रिकेटलाई थप उचाईमा लौजान चाहन्छौं,’ पारसले थपे, ‘यसका लागि सरकारले खेलकुदका लागि छुट्याउने बजेट समेत बृद्धी गर्दै खेलकुद विकासका लागि दुरगामी योजनाहरु ल्याउनु पर्छ ।’-nagariknews


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !