८ फागुन, राप्ती (चितवन) ।
नाम : रूपसिंह चेपाङ
उमेर : ७६ वर्ष
आफ्नो नाममा जग्गा : शून्य
२० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो । करिब १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी एक्ला भए । त्यसपछि सहाराविहीन छन् ।
उनी बस्ने ओढारनजिकै छोरीको घर छ । त्यो पनि ‘जनता आवास’ कार्यक्रमले बनाइदिएको । त्यसबाहेक वरिपरि कसैको घर छैन । एक्ला र अशक्त छन् तर छोरीको घरमा बस्न चाहँदैनन् । खानेकुरा भएको बेला तिनै छोरीले पकाएर ओढारमै लगिदिन्छिन् । नभएको बेला खोकिलामा हात हाल्छन्, भोकै बस्छन् । ‘कसैले ल्याएर दियो भने छोरीले मलाई पनि पकाएर ल्याइदिन्छिन्, नत्र उनीहरू नै भोकै पर्छन्, म बूढोले कहाँबाट पाउनु ? ’ उनले भने ।
यसपालि पनि उनले त्यहीं जाडो काटे । न ओढ्ने छ न त आङ छोप्ने एकधरो कपडा । जाडो गएर के गर्नु, फेरि बर्खा लागिहाल्छ । वर्षा सुरु भएपछि पानी रसाउँदै आउँछ, ओढारमा ।
शरीर निकै गलिसकेको छ । ओढारवाट निस्केर हिँडडुल गर्न पनि सक्दैनन् । धुनी तापेकै भरमा रात कटाउँछन् उनी । धेरै दिनसम्म केही खान नपाएपछि भोक सहन सक्दैनन्, अनि भोक टार्न त्यही खरानी खान्छन् ।
उनलाई विभिन्न रोगले गाँजेको छ । उपचारको त के कुरा गर्नु ! अहिलेसम्म अस्पताल र डाक्टर देख्नै पाएका छैनन् । दुईवटै खुट्टाको घुँडा दुख्दा पनि खरानी नै दल्छन् । भन्छन्, ‘आगो र खरानी भनेको त भगवान् हो । मलाई यसैले बचाएको छ ।’ चिसोले टाउको दुख्दा पनि निधारमा खरानी घस्छन् । त्यसो गर्दा निको हुन्छ भन्ने उनको बुझाइ छ ।
ओढारको चिसो ढुंगा नै उनको नियमित ओछ्यान बनेको छ । आँखा पनि कमजोर बन्दै गएको छ । राम्रोसँग देख्न सक्दैनन् । दाहिने आँखावाट जति आँसु चुहिएको छ, त्योभन्दा बढी देब्रे आँखावाट रगत बगिरहेको छ । तर, उनको यो कहालीलाग्दो व्यथा कसले सुनिदिने ?
चिसोले ओठ सुकेको छ । तैपनि, आगोको भरमा रात काट्नुपरेको छ । तर, कुटुम्बको घरमा बस्न नहुने भन्दै छोरीको घरमा जाँदैनन् । ‘अहिलेसम्म त ओढारमै बसेर बिताएँ । अब मर्ने बेला कुटुम्बको घरमा कसरी बस्नु ? ’ उनले भने, ‘मलाई त यही ओढार प्यारो छ ।’ तर, उनलाई कसैले आएर सानोतिनो झुप्रो बनाइदिए जीवनको अन्तिम क्षणमा आरामको सास फेर्दै मर्ने धोको छ ।
रूपसिंह चेपाङको यो दोस्रो ओढार हो । यसअघि अहिले बसिरहेको भन्दा थोरै माथिको ओढारमा बस्थे । सात वर्षअघि भण्डारा-मलेखु चेपाङ राजमार्गको ट्र्याक खन्दा उनको ओढार पुरियो । त्यसपछि उनी अर्को ओढारमा सरे । अहिले बसेको ओढार पनि पहिरोको जोखिममा छ ।
चार वर्षदेखि त्यही बाटो भएर ट्र्याक्टर, बोलेरो जिपलगायत गाडी गुड्न थालेका छन् तर उनी भने सवारीसाधनको पहुँच पुगेर पनि तिनको आवाज सुनेरै चित्त बुझाएर बस्न बाध्य छन् । कोही नयाँ मान्छे अगाडि पर्दा दुई हात जोडेर नमस्कार गर्छन् र ‘मलाई के ल्याइदिनुभा’छ सर’ भन्दै आँसु झार्छन् ।
एउटा सुगम जिल्लाको नगरपालिकाभित्रकै बासिन्दा भएर पनि रूपसिंह आनन्दको घरमा बस्नबाट वञ्चित छन् । तर, स्थानीय तह निर्वाचन भएको वर्षदिन बित्न लाग्दासमेत स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन ।-अन्नपुर्ण पोस्ट्