३ असार २०८१, आइतबार

नेपाली इन्जिनियरहरुलाई चीनमा रेल तालिम


china-railway

४ फागुन, काठमाण्डौ । नेपाल-चीन रेलमार्ग सम्भव रहेको प्रतिवेदन गत २४ कात्तिकमै चिनियाँ पक्षले दिइसकेको छ । अब नेपाली प्राविधिकहरुलाई चीनमा रेलसम्बन्धी तालिम दिने तयारी शुरु भएको छ । नेपालसँग ५३ किलोमिटर लामो जनकपुर-जयनगर ‘न्यारो गेज’बाहेक रेलमार्ग सञ्चालनको अनुभव छैन । सोही कारण चीनले नेपाली इन्जिनियरहरुलाई तालिम दिन लागेको हो । उनीहरुलाई छिट्टै चीन पठाउने तयारीमा छ, रेल विभाग ।

कात्तिकमा चिनियाँ टोली फर्किएलगत्तै त्यहाँको नेसनल रेलवे एडमिनिस्ट्रेसन (एनआरए)ले रेल्वे विभागलाई पत्र लेख्दै प्राविधिक तालिमका लागि प्रस्ताव गर्न आग्रह गरेको थियो । विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार तीन चरणको तालिमका लागि सहमति जुटिसकेको छ । आधारभूतसहित आधुनिक प्रविधिका सबै पाटोबारे नेपाली इन्जिनियरहरुले तालिम पाउने आचार्यले जानकारी दिए ।

चिनियाँ टोलीले केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण सम्भव रहेको बताइसकेको छ । ‘हाम्रा इन्जिनियरहरु रेलका प्राविधिक पाटोमा अभ्यस्त छैनन् । त्यसैले यो तालिम हाम्रा लागि महत्वपूर्ण हुनेछ,’ आचार्य भन्छन्, ‘रेलमार्ग अगाडि बढाउन सहज पनि हुनेछ ।’ तालिमको प्रस्तावाट रेलमार्ग निर्माणमा चीन प्रतिबद्ध रहेको सन्देश पाइएको विभागका अधिकारीहरु बताउँछन् ।

चीनसँगको प्रस्तावित रेलमार्ग निर्माणका लागि नेपाल सरकारले औपचारिक आग्रह गर्न बाँकी छ । महानिर्देशक आचार्यका अनुसार ठोस रुपमा काम थाल्न दुई देशबीच औपचारिक सम्झौता हुनुपर्छ । चीनले सन् २००६मै ११ सय किमि लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । हाल ल्हासा-सिगात्से रेलमार्ग निर्माणाधीन छ । र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ ।

उक्त मार्गलाई काठमाडौंसम्म जोड्ने चिनियाँ सोच देखिन्छ । र, काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेलमार्ग निर्माणको योजनामा गृहकार्य भइरहेको छ ।
तथापि, प्रारम्भिक अध्ययनमा तीन वटै मार्गमा केही भौगर्भिक र भौगोलिक समस्या औंल्याएको छ, चिनियाँ टोलीले । नेपाल इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको बीचमा पर्छ । दुई प्लेट आपसमा रगडिँदा रेलमार्गको सुरुङमा समस्या आउने उक्त टोलीको निष्कर्ष छ । यद्यपि, यस्तै समस्या रहेका अन्य मुलुकमा रेलमार्ग सञ्चालनमा रहेकाले नेपालमा पनि सम्भव रहेको सन्देश चिनियाँ प्राविधिकले दिएका छन् ।-अनलाइन खबर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !