३ असार २०८१, आइतबार

शौचालयको सेफ्टी ट्यांकीमा खसेको गैँडालाई उद्धार


गैडा

२७ माघ, चितवन । चितवनको सौराहास्थित शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको शनिबार बिहान सकुसल उद्धार गरिएको छ । सौराहाको एक घरमा बनाइएको शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैंडालाई बिहान करिव १ बजेतिर सकुसल उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

राति आवतजावत गर्ने क्रममा सौराहा आसपास घुम्दै हिँड्ने गैंडा सेफ्टी ट्याँकीमा परेको थियो । राती हात्ती सहित निकुञ्जका कर्मचारीहरु र सेनाको टोलीले गैंडाको उद्धार गरेको उद्धारमा खटिनुभएका चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । सेफ्टी ट्यांकीको ढकन भासिन गई गैंडा भित्र फस्न पुगेको थियो ।

उनका अनुसार सेफ्टी ट्यांकी भत्काई बाटो बनाएर गलको सहयोगमा गैँडालाई निकालिएको हो । सौराहाका व्यवसायी गिरीधारी चौधरीको घर पछाडिको उक्त पुरानो सेफ्टी ट्यांकीमा गैँडा परेको थियो । केही महिनाअघि पश्चिम चितवनको मेघौलीबाट उद्धार गरी सौराहा ल्याइएको त्यो गैँडा सौराहा क्षेत्रमा घुम्दै हिँड्छ। यसैबीच, चितवन राष्ट्रिय निकुञ्जले आसपास क्षेत्रको घर वरपर बनाइएका खाल्डाखुण्डीहरु पुरेर सुरक्षित राख्न मध्यवर्ती क्षेत्रका बासिन्दाहरुलाई अपिल गरेको छ ।

यस्ता खाडलहरु पुर्न र सेफ्टी ट्यांकी, गोबर ग्यासका लागि बनाएको स्थानहरुलाई सुरक्षित राख्न निकुञ्जको पुर्वी सेक्टर कार्यालय चितवनले सार्वजनिक सूचना नै जारी गरी अपिल गरेको हो । यस्ता खाल्डाखुल्डीमा बाघ,गैंडा, हात्ती तथा दुर्लभ वन्यजन्तुहरु परेर फस्ने तथा मृत्यु समेत हुनसक्ने भएकाले ध्यानाकर्षण गराईएको निकुञ्जको पुर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले जानकारी दिए ।-थाहा खबरgaida


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !